Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणजाल हैन - चिनियाँ दूतावासका प्रवक्ता

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, १४ : १५ मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणजाल हैन - चिनियाँ दूतावासका प्रवक्ता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चिनियाँ ऋणको पासो भन्दै चर्चा गरिएको बारे प्रश्न उठेपछि चिनियाँ दूतावासका प्रवक्ता यु पेङ्चेनले त्यसको खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत पत्रकारसँग भएका प्रश्न उत्तर सार्वजनिक गर्दै पेङ्चेनले चीनले विकासशील मुलुकसँग गरिरहेको सहकार्यलाई भाँड्न केही शक्तिले निर्माण गरेको गलत भाष्य नै चिनियाँ ऋणजाल भएको बताएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन र नेपालको सहकार्यबाट निर्मित एक महत्त्वपूर्ण भौतिक पूर्वाधार भएको उल्लेख गर्दै नेपालमा उक्त प्रोजेक्टलाई राष्ट्रिय गौरवको योजनाका रुपमा लिइएको उल्लेख गरेका छन् । पोखरावासीको आफ्नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना साकार भएको बताउँदै पेङ्चेनले फेब्रुअरीसम्म १० लाख जनाले एयरपोर्टमार्फत सेवा लिएको बताएका छन् ।

कोभिड -१९ अघि सन् २०१९ मा पनि ७ लाख यात्रुले मात्रै साविकको विमानस्थलबाट सेवा लिएको तथ्यांक उल्लेख गर्दै उनले नयाँ विमानस्थलले पर्यटन प्रबर्द्धनमा उल्लेख्य टेवा पुर्याएको बताएका छन् । ऋणका सन्दर्भमा नेपालको ८८ प्रतिशत ऋणदाता आइडिबी, एडिबी र आइएमएफ जस्ता संस्था भएको र दुईपक्षीय ऋणका हकमा पनि नेपालले सबैभन्दा धेरै ऋण जापान र भारतसँग लिएको पनि पेङ्चेनले उल्लेख गरेका छन् ।

तेस्रो स्थानमा रहेको चीनलाई ऋणको पासो थापेको आरोप लगाउने तर नेपालले ऋण लिएका अन्य पार्टनरलाई भने कुनै आरोप नलगाइएको पनि उनले गुनासो गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका हकमा चीनले सधैं पोखरासँग सिधा हवाई उडान संख्या बढाउन प्रयत्नरत रहेको पनि उनले बताए । केही देशले अनावश्यक दोषारोपण गर्नुभन्दा नेपालको पर्यटन तथा हवाईसेवा प्रबर्द्धनमा लाग्न समेत पेङ्चेनले आह्वान गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको