केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षाको नाममा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष, २०७९÷८० मा यही शीर्षकमा एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।
९० हजार बढीले लिए एनओसी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत्र १२ सम्म ९० हजार १६९ जना विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) माग गरेका छन् । गत वर्ष माघ मसान्तसम्म ५१ हजार ८१६ जना विद्यार्थीले एनओसी लिएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।
वैदेशिक अध्ययन अनुमति शाखा कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष विदेशिने विद्यार्थीको संख्या पनि धेरै हुने अनुमान छ । गत आर्थिक वर्षमा १ लाख १० हजार विद्यार्थी विदेशिएका थिए ।
विदेश अध्ययनमा जानुका धेरै कारण छन् । सामाजिक दबाबका कारण पनि विदेश जानुपर्छ भन्ने भावना युवापुस्तामा आएको देखिन्छ । अधिकांश युवा पढाइसँगै कमाउने आसमा विदेशिएका छन् । कतिपय सरकारी सेवामा प्रवेशको अवसर नभएकाले पनि विदेश जान लागेका छन् ।
अहिलेको युवा पुस्ता अध्ययन या कामदार भिसामा बाहिर जाने प्रवृत्ति बढ्दो छ । आजको सबैभन्दा चिन्ताको विषय विद्यार्थी वा अध्ययन भिसाको लहर हो । आज प्रत्येक विद्यार्थी १२ कक्षासम्म मात्र नेपालमा पढ्न चाहन्छ र १२ पास गर्नासाथ विदेश पढ्ने तयारीमा हिँडेको देखिन्छ । अहिलेका युवाहरुले बोकेका सपना नै अध्ययन भिसासँगै ग्रिनकार्ड र पिआरका छन् ।
त्रिवि शिक्षाशास्त्र संकायका सहायक डिन प्रा.डा.शोभाकर कँडेलले देशको द्रुतर विकास गर्न सकेमा बौद्धिक पलायन रोक्न सकिने बताएका छन् । ‘कुनै पनि देशमा व्यक्ति धनी तथा सम्मानित भएर हुँदो रहेनछ, समग्र देशको विकास र प्रशस्तिबाट नै त्यो देशले विश्वमा पहिचान कायम राख्न सक्दो रहेछ। अनि बौद्धिक पलायनलाई रोक्न सकिँदोरहेछ भन्ने कुरा विकसित देशबाट सिक्न अवेला गर्नु हुँदैन ।’उनले भने
राजनीतिक नेतृत्वले रोजगारी कसरी उत्पादन गर्ने ? देशमा राम्रो कसरी गर्न सकिन्छ ? भन्ने चिन्तन नगरेकाले नेपाली युवा विदेशिएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् ।
‘नेपालमा धेरै राम्रो गर्न सकिन्छ भन्ने आशा राजनीतिक नेतृत्वले जगाउन नसकेकाले पनि विद्यार्थी विदेशिन बाध्य भएका हुन् । अहिलेका केटाकेटीमा अभिभावकसँग टाढा हुने मनोवृत्ति बढेको छ ।’ ‘अहिलेका विद्यार्थीको पढ्ने चाहना धेरै विविधता भएर गएको छ । त्यसमा पनि नेपालको शिक्षा प्रणाली असाध्यै पुरानो छ । पुरानो ढंगमा चलेका कलेज र नयाँ ढंगको चाहनाले पनि बाहिरिने विद्यार्थीको जमात बढ्दै छ । त्यसैले नेपालको शिक्षा प्रणालिमा सुधारको आवश्यकता रहेको छ ।’ उनले भनेका छन् ।
विदेशिने विद्यार्थीभन्दा पनि नेपालमा पढीरहेका विद्यार्थीका बारेमा सोच्नुपर्ने कोइरालाले बताएका छन् । उनी भन्छन, ‘नेपालमा ७० लाख बढी विद्यार्थी होलान् । उनीहरूको कत्ति पनि चिन्ता गरेको देखिएन । १ लाख विदेशिए भनेर मात्र पीडा व्यक्त गरिरहेका छौं । हामीले अब विदेशिएका विद्यार्थीलाई फर्काउने र यहाँ भएका विद्यार्थीमा आशा र सम्भावना भर्ने काम गर्नुपर्छ ।’
यस्तै, शिक्षा मन्त्रालयका प्रवक्ता केशव प्रसाद दहालले समाजको मनोवृत्तिले गर्दा पनि विदेशीले लहर बढिरहेको बताएका छन् ।
उनले भने ‘बाहिर पठाउनुपर्छ भन्ने किसीमको समाजको मनोवृित्त छ यसले पनि विदेशीने बढीरहेका छन् । हाम्रो विश्वविद्यालयको शिक्षा प्रणाली त्यती व्यवस्थीत भएन, प्ररीक्षाको नतिजाहरु पनि समयमा प्रकाशित नहुने लगायतका समस्याहरुले युवाहरुमाझ विदेश मोह बढेको हुनसक्ने प्रक्षेपण गर्न सकिन्छ ।’
शिक्षा क्षेत्रमा बजेट कति ?
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले आर्थिक वर्ष २०८०/८१ मा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको कूल विनियोजित परिमार्जित वार्षिक बजेट एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ११.२६ प्रतिशत हो। आर्थिक वर्ष २०७९/८० का लागि शिक्षामा कुल एक खर्ब ९६ अर्ब ३३ करोड रुपियाँ छुट्याइएको थियो।
अन्तर्राष्ट्रिय मान्यता अनुसार कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि बिनियोजन हुनुपर्दछ । शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी न त व्यवहारिक छ न रोजगारमूलक नै । जसका कारण धेरै युवाहरू नेपालमा पढेर कुनै सीप तथा ज्ञान प्राप्त गरिन्छ भन्ने कुरामा विश्वस्त छैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस