क्रेडिट कार्ड भनेको 'क' वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका 'ख' र 'ग' वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो ।
नेपालमा डेबिट कार्डपछि बिस्तारै क्रेडिट कार्ड चलाउने ग्राहकको संख्या पनि बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड जारी गर्नुपूर्व ग्राहकको विस्तृत प्रोफाइल चेक गर्ने गर्दछन् तर क्रेडिट कार्ड लिने ग्राहकले कार्ड लिनुपूर्व त्यसमा भएका विभिन्न सर्तहरु पढ्न भने छुटाउने गरेको भेटिएको छ । विशेषगरि सपिङ गर्दा क्रेडिट कार्ड भए निकै सहज हुने भएपनि कार्ड जारी गर्दा उल्लेखित ब्याजदर, जरिवाना, शुल्क लगायत विषय बारे जानकार नहुँदा कार्डबारे गुनासो लिएर बैंक पुग्ने ग्राहकको संख्या उल्लेख्य हुने गरेको छ ।
सामान्यतः क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा तोकिएको समयसीमासम्म कुनै ब्याज लाग्दैन तर सो मितिमा भुक्तानी नभएमा उच्च दरको ब्याज लाग्ने गर्दछ । त्यसैले यस्तो कार्ड जारी गर्दा क्रेडिट सीमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम, भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी नगरेमा लागू हुने ब्याजदर आदिका बारेमा जानकारी उपलब्ध गराई ग्राहकसँग सम्झौता गर्नुपर्ने र उक्त सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
तसर्थ, क्रेडिट कार्डको सीमा, शुल्क, ब्याजदर, भुक्तानी मितिलगायतका सर्तबारे प्रष्ट रूपमा बुझेर मात्र आफूलाई उपयुक्त हुने किसिमको कार्ड सम्बन्धित संस्थाबाट माग गर्नुपर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस