Like us!
Follow us!
Connect us!
Watch us!

समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरिए सञ्चार जगत प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, २१ : १३ मा प्रकाशित

समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरिए सञ्चार जगत प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी

सहकारी ठगी प्रकरण र संसद् अवरोधको विषय पछिल्लो समय निकै पेचिलो बनिरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग राखेर संसद् अवरोध गरिरहेको छ । कांग्रेसको अवरोधका बावजुद सभामुखले सत्तापक्षको इसारामा पेलेर संसद्का काम कारबाहीलाई अगाडि बढाइरहेका छन् । त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी भएको विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको थप आलोचना भइरहेको छ । 

यिनै विभिन्न विषयमा रिपोर्टर्स क्लब नेपालले  साक्षत्कार कार्यक्रम आयोजना गरेर दलका युवा नेताहरुको धारणा लिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइमस् टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समाचार लेखिएकै भरमा कसैलाई धरपकड गर्ने, पक्राउ गर्नेजस्ता विषय सह्य नहुने बताए । गलत गरेको भए कसैलाई बाँकी राख्न नहुने बताउँदै पत्रकार धमलाले समाचार लेखेकै भरमा पूर्वाग्रही भएर कसैलाई पनि पक्राउ पुर्जी जारी गरिए सञ्चार जगतले त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

 राज्य यसरी अगाडि बढेको खण्डमा सञ्चारकर्मीहरु शसक्त ढंगले संघर्षमा उत्रिने उनको चेतावनी छ । ‘कसैलाई समाचार लेखेकै भरमा गिरफ्तार गरिन्छ भने हामी त्यसलाई मान्दैनौं, सह्य हुने छैन । मेरो पक्षमा समाचार लेखिएन भनेर गिरफ्तार गर्छन् भने हामी त्यसको विरुद्धमा उभिन तयार छौं,’– पत्रकार धमलाले भने । 

धमलाले नेपाली पत्रकारिता जगत पञ्चायत कालदेखि आजसम्म सुरक्षित नगरेकोसमेत स्मरण गराए । उनले नेताहरुले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने र आलोचनालाई सहजरुपमा लिनुपर्ने बताए । साथै, सहकारी ठगी प्रकरणमा सरकार गम्भीर हुनुपर्ने र पीडितले बचत फिर्ता पाउनुपर्ने कुरा सुनिश्चित हुनुपर्ने उनले बताए । 
नेकपा (माओवादी केन्द्र) नेता एवं अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले संसद् अवरोध गरेर संसदीय प्रणालीको अध्येता भन्ने नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासलाई दवाउने कोशिस गरेको टिप्पणी गरे । ‘अहिले संसद् अवरुद्ध भइराखेको छ । जुन पार्टी यो देशको संसदीय अभ्यासमा आफूलाई अब्बल ठान्छ, आफूलाई संसदीय प्रणालीको अध्येता भन्छ  र लोकतन्त्रको मसिहा ठान्छ, त्यसले नै अहिले लोकतान्त्रिक अभ्यासलाई दबाउने कोशिस गरेको छ,’– उनले भने । 

साथै, अहिले गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर संसदीय समिति बन्नुपर्छ भन्ने कांग्रेसको माग स्मरण गराउँदै उनले आफूहरुले विगतमा भएका सबै प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्ने माग गरेको बताए । उनले संसदीय समिति बनाउनुपर्ने कुरामा सरकार तयार रहेको र सहकारी पीडितले न्याय पाउनुपर्ने बताए । उनले भने, ‘गृहमन्त्रीको नाम कोड गरेर पनि समिति बनाउनेबारे छलफल भइरहेको छ । कांग्रेसले छानविनको विषय व्यक्तिमाथि लक्षित गरेको छ । हिजो विगतमा भएको सबै गलत कामको छानविन हुनुपर्छ । गृहमन्त्रीले सदनमा उठाएका कुराहरुको पनि छानविन हुनुपर्छ । संसदीय समिति बनाउने कुरामा सरकार तयार छ । संसदीय समिति बन्नुपर्छ । पीडित व्यक्तिहरुले न्याय पाउनुपर्छ । सबैलाई नियन्त्रणमा लिएर छानविन गर्नुपर्छ भन्ने माग हाम्रो पनि हो ।’ 

प्रधानमन्त्री प्रचण्डले सुशासनका लागि आफूमाथि पनि छानविन गर्न आवश्यक भए तयार रहेको बताइरहँदा गृहमन्त्रीमाथि छानविन हुन हुँदैन भन्नु उपयुक्त नहुने उनको भनाइ छ । ‘छानविन गर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले पनि तयार छौं भन्नुभएको छ । प्रक्रियामा आएका सबैमाथि छानविन हुन्छ । पहिला कांग्रेसले झिकेको बखेडा अन्त्य हुनुपर्छ,’– उनले भने । 

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव मनिष मिश्रले प्रश्न उठेका जोसुकैमाथि छानविन हुनुपर्ने बताए । उनले उनले प्रश्न उठेकाहरुमाथि छानविन नहुने हो भने र कानुनी कठघरामा नल्याउने हो भने लोकतन्त्र बलियो नहुने उनले बताए । ‘हामी विपक्षी गठबन्धनमा छौं । जुनसुकै व्यक्ति कानुनी कठघरामा आउँदैन, राज्यको कानुन मान्दैन भने लोकतन्त्र कसरी बलियो हुन्छ ? देशमा लोकतन्त्र कसरी अगाडि बढ्छ ? कानुन नमानुको अर्थ कहीँ हामीले तानाशाह प्रवृत्तिलाई त प्रश्रय दिइरहेका छैनौं,’– उनले भने । 

उपप्रधान एवं गृहमन्त्री लामिछानेले पत्रकारिता गर्ने बेला ठूलो–ठूलो स्वर गरेर कयौंलाई घरवारविहीन बनाइदिएको र बर्वाद पारेको उनको आरोप छ । नेता मिश्रले विगतमा लामिछानेले नै उठाएको कुरा आज जनताले मागिरहेको बताए । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि पक्राउ पुर्जी जारी भएको प्रसंग उल्लेख गर्दै उनले गृहमन्त्री लामिछानेले ‘म पावरमा छु, मेरोविरुद्ध बोल्ने जोकोहीलाई समातेर ल्याऊ’ भनेर तानाशाह प्रवृत्ति देखाएको उनको भनाइ छ । 

लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि सरकार र पार्टी नेतृत्वबाट अलगिनु्पर्नेमा त्यसो नगरेको भन्दै उनले आपत्ति जनाए । विगतमा विभिन्न शीर्ष नेताहरुले गलत गरेर जेल जीवन बिताएको स्मरण गराउँदै उनले लामिछानेमाथि स्वच्छ र निश्पक्ष छानविन हुनुपर्ने र दोषी देखिए कारबाहीको भागिदार हुनुपर्ने उनको भनाइ छ । उनले कुनै पनि बहानामा गृहमन्त्रीलाई उन्मुक्ति दिन नहुने बताए । 

लामिछानेलाई कुनै पनि बहानामा उन्मुक्ति दिइयो भने लोकतन्त्र  समाप्त भएको अनुभूति हुने उनले बताए । लामिछानेमाथि अनुसन्धान नै नभई उन्मुक्ति दिइएको खण्डमा ‘देश भनेको आम जनता र कानुनी राज्यको होईन, पैसा र पावर भएपछि राज्यले माफी दिन्छ’ भन्ने भाष्य स्थापित हुने उनको बुझाइ छ । 
साथै, उनले गृहमन्त्रीलाई आफ्नै नागरिकताको अवस्था हेर्न आग्रह गरे । उनले चोरी गरिसकेपछि सामान फिर्ता गरेर उन्मुक्ति नपाइने बताए । ‘गृहमन्त्रीजीको आफ्नै नागरिकताको अवस्था हेर्नुस् त ? पासपोर्टको अवस्था हेर्नुस् त ? मैले चोरी गरेको थिए, तपाईँले थाहा पाउनुभयो । सामान लग्नुस्, म चोर होईन भन्दा पाइन्छ ? भएको यही अवस्था होईन ?’ उनले प्रश्न गरे । 

गृहमन्त्री लामिछाने पदमा भएका कारण प्रहरीले छानविन गर्न नसक्ने भएकाले संसदीय समिति अनिवार्य रहेको उनले बताए । गृहमन्त्री लामिछाने पदमा भएकै कारण यतिधेरै प्रमाण हुँदा पनि प्रहरीले समाउने हिम्मत नगरेको उनको आरोप छ । 

नेकपा (एकीकृत समाजवादी) का नेता सुदेश पराजुलीले लोकतन्त्रको पक्षमा सबैभन्दा दृढतापूर्वक उभिएको कान्तिपुर मिडिया ग्रुपको अध्यक्षलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाए । आफूहरुलाई गृहमन्त्रीको यस प्रकारको रवैया सह्य नरहेको उनको चेतावनी छ । 

नेता पराजुलीले कान्तिपुर टेलिभिजन र पत्रिकामा गणतन्त्रको आवाज लेखिँदै गर्दा रवि लामिछाने नेपालको नागरिकता र पासपोर्ट त्यागेर अमेरिकामा भाँडा माझ्न अमेरिका गएको टिप्पणी गरे । नेपालमा गणतन्त्र कसरी आयो भन्ने कुरा गृहमन्त्री लामिछानेलाई थाहा नै नरहेको उनको भनाइ छ । 

दुईवटा नागरिकता र दुईवटा पासपोर्ट माहान्यायधिवक्ताको कार्यालयबाट थामथुम गरेर रवि लामिछानेलाई यिनै राजनीतिक दलहरुले फेरि राजनीतिमा ल्याएको कुरा नबिर्सनसमेत उनले आग्रह गरे । गृहमन्त्री लामिछानेले निरङ्कुशताको अगुवाइ गर्न खोजेको उनको आरोप छ । उनले निरङ्ुकुशताको अगुवाइ गर्ने जोकोहीलाई जनताले नस्वीकार्ने समेत बताए । 

साथै, संसद्मा गृहमन्त्री लामिछानेले संसद्ले देशको गोप्य सूचना विदेशीलाई बेचेको भनी दिएको अभिव्यक्ति प्रमाणित गरेर देखाउन उनले आग्रह गरे । उनले विगतमा टेलिभिजनमा गाली गरेजस्तो आरोप लगाएपछि भाग्न नपाइने बताए । ‘देशको सूचना बेचेको भनेर संसद्मा भन्नुभयो । यदि तपाईँलाई सूचना छ भने, राष्ट्रघाती सांसदलाई थुन्ने तपाईँको आँट छ ? त्यो प्रमाण देखाउने तपाईँको आँट छ ? यसरी कुनै पनि मान्छेलाई राष्ट्रघाती बनाउने ? हिजो टेलिभिजनमा गाली गरेजस्तो होईन,’– उनले भने । 

उनले टेलिभिजनमार्फत उदाएको पार्टीले नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउने दल र नेतामाथि धावा बोलिरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनको प्रारम्भ आफ्नै क्याविनेटका उपप्रधान एवं गृहमन्त्रीको छानविनबाट गर्नुपर्ने उनको माग छ । उनले ३१ लाख सहकारी पीडितले न्याय पाउनुपर्ने बताए । सहकारी पीडित रवि लामिछानेभन्दा १० गुणा राम्रा रहेका भन्दै उनले भने ती जनतालाई प्रचण्डले कुर्सीबाट चिन्नुपर्ने बताए । प्रचण्डले समीकरणभन्दा पनि जनतालाई प्राथमिकता दिनुपर्ने उनले बताए ।  

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य डेविट घलेले पत्रकारिताबाट उदाएको व्यक्ति पदमा भएको बेला पत्रकारिता जगतमाथि प्रहार गरेको टिप्पणी गरे । उनले गृहमन्त्री लामिछानेले कयौं अपराधीहरुलाई उन्मुक्ति दिएको आरोपसमेत लगाए । कांग्रेसमाथि र कांग्रेसका नेतामाथि गृहमन्त्री लामिछानेले विभिन्न आरोप लगाइरहेको भन्दै उनले प्रमाणित गरेर देखाउन चूनौति दिए । आरोप प्रमाािणत गर्न नसके नेविसंघले गृहमन्त्रीविरुद्ध सडकबाट प्रतिवाद गर्ने बताए । 

अहिले गृहमन्त्री लामिछानेले कांग्रेसमाथि गरिरहेको आक्रमलाई लोकतन्त्रमाथिको प्रहारका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ । ‘आज देशको लोकतान्त्रिक व्यवस्था हत्या, हिंसाबाट खतरामा छैन । यिनै ढाका टोपी लगाउने र कलम चलाउनेहरुले, हिजो आफूलाई पत्रकारिताको हिमायती भन्नेहरुले, हिजो डेढ दशकभन्दा बढी विदेशी भूमिमा श्रम बेच्ने, देशको सूचना बेच्नेले सत्ता चलाइराख्दा आज कांग्रेसमाथिको आक्रम लोकतन्त्रमाथिको आक्रमण हो,’– उनले भने । 

साथै, कांग्रेसले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर दलको रुपमा स्थापित गराएको नबिर्सन पनि उनले आग्रह गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको