Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय चुलोको आयात घट्दो,ग्यास विस्थापन भने कागजमै सिमित

अर्थ संसार

बुधबार, १२ असार २०८१, १३ : ५० मा प्रकाशित

विद्युतीय चुलोको आयात घट्दो,ग्यास विस्थापन भने कागजमै सिमित

नेपाली बजारमा इन्डक्सन चुल्हो आयात र इन्फ्रारेड चुलोको मागको वृद्धिदर उत्साहजनक रहेन । विद्युतीय चुलो प्रयोग बढाउने सरकारी योजना भने गफमा मात्रै सीमित रहेकोे छ । 

सरकारले विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरिरहे पनि विद्युत् वितरण प्रणालीमा रहेको समस्या समाधान नहुँदा नेपालमा इन्डक्सन आयात सामान्य मात्रै वृद्धि भएको तथ्यांकले देखाएकोछ । पटक पटक बिजुली गइरहने समस्याले विद्युतीय चुलो किन्न र किनेहरुले नियमित प्रयोग गर्न चासो देखाएका छैनन् ।

तथ्यांकले यस्तो देखाउछ 

विद्युतीय चुलो प्रयोग बढ्ने सम्भावना धेरै भएपनि बजारमा माग नबढेको तथ्यांकले देखाउँछ । 
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा १८ करोड १६ लाख ५२ हजार रुपैयाँ बराबरको ८५ हजार २६६ थान विद्युतीय चुलो आयात भएको देखिएको छ । यो अघिल्लो वर्षको यही समयअवधिको तुलनामा ४० प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष ०७९/८० मा २८ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ३० हजार ७ सय ४५ वटा इन्डक्सन चुलो आयात भएको भन्सार विभागले जनाएको छ । १४ करोड ३७ लाख ५३ हजार रुपैयाँ बराबरको ७३ हजार ६ सय ४८ वटा इन्फ्रारेड चुलो आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७८/७९ मा २३ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको १ लाख १६ हजार ८ सय १० वटा इन्डक्सन चुलो आयात भएको थिए । यस्तै ८ करोड ७५ लाख ६७ हजार रुपैयाँ बराबरका ४१ हजार ४ सय ५४ वटा इन्फ्रारेड चुलो आयात भएको थिए ।

त्यस्तै,आर्थिक वर्ष ०७७/७८मा २४ करोड ८२ लाख मूल्यको १ लाख ५४ हजार ९८८ वटा इन्डक्सन आयात भएको थियो । 
त्यस अघि आर्थिक वर्ष ०७६/७७ मा नेपालमा २ करोड ४८ लाख रुपैंयाँको १० हजार ४३५ वटा इन्डक्सन आयात भएको थियो ।

ग्यास खपतको तथ्यांक

चालु आर्थिक बर्षको ११ महिनामा मात्रै ५१ खर्ब ७ करोड रुपैयाँ बराबरको ४८ करोड १६ लाख किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको छ । गत वर्षको ११ महिनाको अवधिमा ५४ अर्ब ३२ करोड रुपैयाँको ४७ करोड ४० लाख किलोग्राम एलपी ग्यास आयात भएको थियो । यो गत वर्षको यही अवधिको तुलनामा ७६ लाख किलोग्रामले बढी हो । मूल्यका आधारमा भने गत वर्षको तुलनामा ३ अर्ब २५ करोडले न्यून हो ।

एलपी ग्यासमा खाना पकाउनभन्दा बिजुलीमा खाना पकाउन करिब एकतिहाइ सस्तो पर्छ । स्वदेशमा बिजुली खपत नभएका कारण निकै सस्तो दरमा भारतलाई बिजुली बेचिएको छ ।

अर्कातिर चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा गत वर्षको तुलनामा थप ७६ लाख किलोग्राम एलपी ग्यास आयात भएको छ । एलपी ग्यास आयातमा भएको यो भारी वृद्धि सरकारको असफलता हो । जुन मूल्यमा भारतलाई बिजुली बिक्री गरिएको छ, त्यही मूल्यमा स्वदेशी उपभोक्ताहरूले पनि बिजुली पाउने हो भने एलपी ग्यासको आयातमा भारी कटौती हुने निश्चित छ । तर, नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई भरपर्दो भने बनाउनै पर्छ । छिनछिनमा बिजुली गइरहने, भोल्टेज घटबढ भइरहने अवस्थाका कारण अहिले पनि सर्वसाधारण जनताको भान्छामा ग्यास सिलिन्डरले नै प्राथमिकता पाइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको