चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नेपालबाट ५ अर्ब ७८ करोड ७१ लाख रुपियाँ रेमिट्यान्स बाहिरीएको छ ।
गत आर्थिक बर्षको ११ महिनामा रेमिटेन्स मार्फत ६ अर्ब ६ करोड ९७ लाख रुपियाँ रेमिट्यान्स बाहिरीएको थियो । गत आव भरीमा ६ अर्ब ६१ करोड २८ लाख रुपियाँ रेमिटयान्स बाहिरीएको थियो ।
चालू आर्थिक बर्षको हालसम्ममा रेमिटेन्स उत्प्रवाह ४ दशमलव ७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
नेपाल भित्रिने रेमिट्यान्सको करिब एक तिहाइ पैसा रेमिट्यान्सकै रुपमा विदेशमा पुग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपालबाट बाहिर गएको रेमिट्यान्सको ठूलो हिस्सा भारतमा गएको तथ्याङ्कले देखाउँछ । त्यसबाहेकका अन्य मुलुकमा पनि नेपालबाट रेमिट्यान्स बाहिरिन्छ ।
भारतका लागि नेपाल रेमिट्यान्स स्रोत मुलुकको सूचीमा आठौं स्थानमा पर्छ । चीन पनि नेपालबाट धेरै रेमिट्यान्स लैजाने मुलुकको सूचीको अग्रस्थानमा छ । नेपालबाट बाहिरिने रेमिट्यान्स रकमको ४.३१ प्रतिशत अंश चीनले ओगट्छ । चीन र भारतबाहेक भुटान, पाकिस्तान, श्रीलंका, र बंगलादेशका लागि पनी नेपाल रेमिट्यान्सको स्रोत मुलुक हो ।
देशभित्र काम नपाएर रोजगारीका लागि विदेशिने क्रम बढीरहेको श्रम मन्त्रालयको तंथ्याकले नै देखाउछ तर रोजगारीका लागि भारत जाने श्रमिकहरुको यकिन तंथ्याक नभए पनि संख्या वर्षेनि बढ्दो नै छ । गत आवमा नेपालमा १२ खर्ब २० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आवको जेठ मसान्तसम्म पनि १३ खर्ब २७ अर्ब ५० करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपालमा ७७ देशका २० हजारभन्दा बढी विदेशी कामदार छन् । यहाँ काम गरेर उनीहरूले वार्षिक अर्बाैँ रुपैयाँ रेमिट्यान्स आफ्नो देश पठाउँछन् ।
नेपाल सरकारको वर्क पर्मिट (श्रम स्वीकृत) लिएर नेपालमा काम गर्न आउने विदेशी कामदारले यो रेमिट्यान्स आफ्नो देश पठाएका हुन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन पाउँछन् । कमाएको २५ प्रतिशत रकम उनीहरूले नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।
नेपालमा सञ्चालित मल्टिनेसनल कम्पनी, जलविद्युत् आयोजना, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । विशेषगरी विदेशी लगानीका कम्पनी, आयोजना, बैंक, बिमा कम्पनीमा विदेशी कर्मचारीको संख्या बढी छ । जलविद्युत् तथा पूर्वाधार आयोजनामा चिनियाँ प्राविधिक कामदार बढी आउने गर्छन् । उनीहरूले नेपालमा कमाउने पैसा रेमिट्यान्समार्फत आफ्नो देश पठाउने गर्छन् ।
यद्यपि, यसमा अनौपचारिक माध्यमबाट बाहिरिने रेमिट्यान्स भने समावेश छैन । नेपालमा थुप्रै भारतीय नागरिक वर्क पर्मिट नलिई अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरूले कमाएको पैसा भने औपचारिक रूपमा लैजान पाउँदैनन् । उनीहरूले कमाएको पैसा सीमा क्षेत्रमा सटही गरेर नगद नै आफ्नो देश लैजाने गर्छन्, जुन सरकारी तथ्यांकमा समावेश हुँदैन ।
यसरी कति रकम बाहिरिन्छ भनेर सरकारले अहिलेसम्म कुनै अध्ययन गरेको छैन । यद्यपि, अमेरिकाको पिउ रिसर्च सेन्टरले सन् २०१७ मा विश्वमा रेमिट्यान्स आप्रवाहबारे अध्ययन गरेको थियो । जसका अनुसार भारतबाट वार्षिक करिब एक अर्ब अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिने गर्छ । नेपालबाट भने तीन अर्ब अमेरिकी डलर रेमिट्यान्स भारत जाने अध्ययन प्रतिवेदनमा उल्लेख छ । अर्थात्, भारतबाट नेपाल भित्रिनेभन्दा बाहिरिने रेमिट्यान्स तेब्बर बढी छ ।
भारतमा अधिकांश नेपाली अनौचारिक रूपमा काम गर्न गएका हुन्छन्, उनीहरूले पनि आफूले कमाएको पैसा नेपालमा नगद नै पठाउने तथा नगद नै बोकेर आउने गर्छन् ।
नेपालीले विदेशमा काम गरेर पठाउने रेमिट्यान्स बर्षेनी बढ्दै गएको छ । स्वदेशमा रोजगारी पाइएन भन्दै वर्षौंदेखि ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । स्वदेशमा पाइने कामका क्षेत्रमा भने नेपाली युवाको आँखा लागेको छैन । तर तिनै क्षेत्रमा काम गर्न विदेशी नेपाल आउने क्रम बढेको छ । नेपालमा आएर काम गर्ने विदेशीले मनग्यै रेमिटेन्स लैजाने गरेका छन् ।
विदेशबाट फर्केकाले स्वदेशमै काम गर्दा यही रेमिटेन्स रोक्न सकिन्छ । तर यसका लागि सीप आवश्यक हुन्छ । हामीकहाँ सीप सिक्नुको साटो कोरा किताबी ज्ञानमा रमाउने बढ्दो प्रवृत्तिका कारण मुलुकले युवा जनशक्ति गुमाउनुपरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस