Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमार्फत सेयर बजार प्रभावित पार्नेहरुलाई कारबाही गर्ने बारे छलफल गर्दै धितोपत्र बोर्ड

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १० : २२ मा प्रकाशित

सामाजिक सञ्जालमार्फत सेयर बजार प्रभावित पार्नेहरुलाई कारबाही गर्ने बारे छलफल गर्दै धितोपत्र बोर्ड

विभिन्न गैर कानुनी चलखेल गरी सेयर बजार प्रभावित पार्नेहरुलाई कारबाही गर्न नेपाल धितोपत्र बोर्डमा सोमबार मात्रै तीन वटा उजुरी परेको छ । लगानीकर्ताहरुका तर्फबाट दर्ता गरिएको उजुरी पत्रमा दोषीहरुलाई तत्काल कडा कारबाही गर्न र बोर्डको प्रभावकारिता बढाउन माग गरिएको छ ।

सुरज खड्कालगायतले दर्ता गरेको उजुरी पत्रमा बजारमा गैरकानूनी चलखेल भईरहेकाले बोर्डले प्रहरीको समेत सहयोग लिएर नियन्त्रण गर्न माग गरिएको छ । बजारमा स्वच्छ, पारदर्शी र बस्तुनिष्ट सूचना प्रबाहले ब्यापक महत्व राख्ने तर अफवाह, गलत सूचना फैलावट र म्यानुपुलेशनले पूँजी बजारमा ठूलो अस्थिरता पैदा गर्नुका साथै लाखौं लगानीकर्ताको खर्बौ सम्पतिमा क्षति गर्नुका साथै बजारको दीर्घकालीन बिकास नै अबरुद्ध पार्ने भन्दै यस्ता कार्य रोक्न बोर्ड मुकदर्शक बनेकोमा आश्चर्य ब्यक्त गरिएको छ ।

केही ब्यक्तिहरुले सामाजिक संजालको प्रयोग गरी आम सर्बसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने, सक्कली वा नक्कली नामबाट खोलिएका आईडीहरुबाट गलत कुरा प्रबाह गरी लगानीकर्ताहरुको स्वतन्त्र निर्णय गर्ने अधिकार र समग्र पूँजी बजारलाई समेत बाधा पारेको हुँदा प्रचलित नियम कानून र धितोपत्र बोर्डको क्षेत्राधिकार प्रयोग गरी तत्काल कडा कारबाही गर्नु आबश्यक हुन गएको लगानीकर्ताहरुको भनाई छ । 

सामाजिक सञ्जालमार्फत सेयर बजारप्रति नकारात्मक अफवाह फैलाउनेहरुलाई कारबाही गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरिएको छ। धितोपत्र बोर्डमा आमलगानीकर्ताले दर्ता गरेको उजुरीमा त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न माग गरिएको हो।  ‘ प्रचलित नियम–कानुन र धितोपत्र बोर्डको क्षेत्राधिकार प्रयोग गरी तत्काल कडा कारबाहीका लागि यो निवेदन पेस गरेको छु’, 

उजुरीमा सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाट्सएप, क्लबहाउसलगायतबाट सेयर  बजारको सूचक यतिले घट्छ र यतिले बढ्छ भनी अफवाह फैलाउने, कुनै कम्पनीको सेयर भाउ नै तोकेर यति पुर्याउँछु र उति पुर्याउँछु भनी लेखेर वा बोलेर लगानीकर्ताहरुलाई म्यानुपुलेसन गरी खरिद वा बिक्री गर्न उक्साउनेहरु पहिचान गरी तत्काल कारबाही गर्न माग गरिएको छ। फेक आईडी बनाएर सेयर बजारका बारेमा अफवाह फैलाउने, किन्न वा बिक्री गर्न उक्साउनेहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोको सहयोग लिएर पहिचान गरी प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उजुरीमा माग गरिएको छ।

उजुरीमा कुनै कम्पनीको गोप्य सूचनामा आधारित भई लगानीकर्तालाई उक्साउने र भड्काउनेहरु पहिचान गरी कारबाही गर्न माग गरिएको छ। ‘त्यस बोर्डबाट कोही कसैलाई सेयर बजारको सूचक र कुनै कम्पनी बारेमा टेक्निकल र फण्डामेन्टल विश्लेषण प्रस्तुत गर्न अनुमति दिइएको भए सो समेत सार्वजनिक रुपमा जानकारी गराई पाउँ’, उजुरीमा उल्लेख छ।

त्यस बोर्डबाट अनुमति नलिई कोही कसैले सूचक तथा कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै अफवाह फैलाएकोमा त्यसबाट पुँजीबजार तथा लगानीकर्तालाई भएको क्षतिसमेत भराउन उजुरीमा माग गरिएको छ। ‘लगानीकर्ताबाट शुल्क लिएर सामाजिक सञ्जालमा समूह बनाई कारोबार समयमा सेयर किनबेच गर्ने, गराउनेहरु पहिचान गरी निजहरुमाथि कडा कारबाही गरिपाउँ’, उजुरीमा भनिएको छ, ‘यससँग सम्बन्धित प्रमाण म निवेदकसँग सुरक्षित रहेको जानकारी गराउँछु ।’

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९१ देखि दफा १०० सम्मको कसुर गर्नेहरु पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने दायित्व नेपाल धितोपत्र बोर्डको हो कि हैन ? सो समेत सार्वजनिक रुपमा स्पष्ट पार्न उजुरीमा माग गरिएको छ। प्रस्तुत मागबमोजिम त्यस बोर्डबाट कुनै कारबाही नभएमा प्रचलित कानुनअनुसार अन्य निकायमा उजुरी गर्न बाध्य हुने उजुरीमा चेतावनी दिइएको छ।

बोर्डका प्रवक्ता नवराज अधिकारीले बोर्ड अध्यक्षसँग छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए। 

उनले भने  ‘केहि लगानीकर्ता उजुरी लिएर आउनुभाको थियो हामीले मिटिङ नै गरेर उहाँहरुका कुरा सुन्यौं र नोट पनि गरेका छौं, यसबारे अध्यक्ष ज्युसँग छलफल गरेर के कसरी कारबाही प्रक्रीया अगाडी बढाउन सकिन्छ हामी बढाउछौं ।’

 

 

66ea5c30712ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको