सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले सकार गरेको गैरबैंकिङ सम्पत्तिलाई बैंकिङ सम्पत्तिमा रूपान्तरण गरेपछि धितो धनीले हकदाबी गर्न नपाउने व्याख्या गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुन, राष्ट्र बैंकद्वारा जारी निर्देशिकाको व्याख्या गर्दै अदालतले बैंकिङ सम्पत्तिका रूपमा उपभोग गरिसकेको सम्पत्तिमा फिर्ता माग गर्ने अधिकार धितो धनीलाई नहुने व्याख्या गरेको हो ।
नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेडसमेत विपक्षी भएको मुद्दामा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८१ असार २० गते उक्त फैसला गरेको हो । फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । बैंकिङ सम्पत्तिमा लेखाङ्कन भएपछि त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता दिनु न्यायोचितसमेत नहुने अदालतले व्याख्या गरेको छ । गैरबैंकिङ सम्पत्तिमा समेत बैंकले सकार गरेको वा तेस्रो व्यक्तिमा हक हस्तान्तरण भए पनि धितो धनीले माग गर्दै फिर्ता प्रक्रियाका लागि बैंक तथा वित्तीय संस्था बाध्य नहुने अदालतको व्याख्या छ । गैरबैंकिङ सम्पत्ति दुवै पक्ष सहमत भएमा तोकिएको लेखाङ्कन पूरा गरेर धितो धनीले पाउन सक्ने भने अदालतको फैसला छ तर यसका लागि पनि दुवै पक्ष सहमत हुनुपर्ने व्याख्या अदालतको छ ।
बैंकिङ सम्पत्तिमा सम्बन्धित बैंकले आफ्नो उपयोगका लागि गरेको थप लगानी आफूलाई अवश्यक पर्ने संरचनाको निर्माण वा सोमा भएको लागत तथा खर्च, बैंकको आवश्यकता र त्यहाँको उपभोगको अवस्था आदि जस्ता जटिल कुरालाई बेवास्ता गर्न सकिन्न, सर्वोच्चको व्याख्यामा भनिएको छ, त्यसरी नेपाल बैंकले बैंकिङ सम्पत्तिका रूपमा उपयोग गरेको सम्पत्तिलाई फिर्ता माग गर्ने अधिकार निवेदकलाई रहे भएको देखिन आएन । बैंक तथा वित्तीय संस्थाले ऋणीले तोकिएको समयमा कर्जाको साँवा तथा ब्याज नतिरेमा सुरक्षणबापतको धितो लिलाम गर्न पाउने, गैरबैंकिङ तथा बैंकिङ सम्पत्तिमा लेखाङ्कन गर्न पाउने कानुनी अधिकार नै भएको फैसलामा उल्लेख गरेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस