लगानी बोर्डको ६७औँ बैठकले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा करिब ९३ अर्ब ४० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। यससँगै परियोजना विकास सम्झौताका लागि आवश्यक छलफल गर्न वार्ता समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले चालू आर्थिक वर्षको प्रगतिमाथि समीक्षा गर्दै आगामी २०८२/८३ सालका लागि वार्षिक कार्ययोजना स्वीकृत गरेको छ। बोर्डले यस वर्षलाई जलविद्युत् तथा औद्योगिक पूर्वाधार विस्तारका लागि महत्वपूर्ण समयका रूपमा लिएको बताइएको छ।
बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गर्दै अनुमतिपत्र जारी गर्न बोर्डको प्रमुख कार्यकारी अधिकृतलाई अधिकार प्रदान गर्ने निर्णय पनि गरेको छ। यसले परियोजनाको कार्यान्वयन चरणलाई थप गति दिने अपेक्षा गरिएको छ।
९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको ‘डाइरेक्ट एग्रिमेन्ट’ मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी बैठकले गरेको छ। त्यस्तै, ८०० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाका लागि जारी गरिएको सर्वेक्षण अनुमतिपत्र थप गर्ने निर्णयसमेत भएको छ।
बैठकले करिब १६ अर्ब लागत अनुमानित अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि समझदारी गर्न तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न बोर्डको प्रमुख कार्यकारी अधिकृतलाई अधिकार दिने निर्णय गरेको छ।
बैठकमा अर्थमन्त्री, ऊर्जा तथा सिँचाइ मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, मुख्यसचिव, राष्ट्र बैंकका गभर्नरलगायत पदाधिकारीहरूको सहभागिता थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस