Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मेडिसिटीले उपचार प्रक्रियामा कुनै त्रुटि नभएको प्रष्ट्यायो

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, ०७ : ०९ मा प्रकाशित

नेपाल मेडिसिटीले उपचार प्रक्रियामा कुनै त्रुटि नभएको प्रष्ट्यायो

नेपाल मेडिसिटी अस्पतालले मंसिर १ गते उपचारको क्रममा निधन भएका इलाम निवासी सरोज सुब्बाज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घटनाबारे सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्न छानबिनको लागि पूर्ण सहयोग गर्ने जनाएको छ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै स्व. सुब्बाज्यूको उपचारमा कुनै लापरवाही नभएको स्पष्ट गर्दै छानबिनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

स्व. सरोज सुब्बाज्यूको मृगौला प्रत्यारोपणका लागि असोज ४ गते अस्पताल भर्ना गरिएका थिए। प्रत्यारोपण सफल भएपछि असोज १२ गते उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। तर ४८ दिनपछि कार्तिक ३० गते बिहान गम्भीर अवस्थामा पुनः आकस्मिक कक्षमा भर्ना गरिएपछि चिकित्सकहरूको अथक प्रयासका बाबजुद उनको मंसिर १ गते निधन भएको थियो।

विज्ञप्तिमा परिवारजनलाई उपचारसम्बन्धी सम्पूर्ण तथ्य जानकारी गराइसकेको उल्लेख गर्दै केही व्यक्तिहरूले अस्पताल र चिकित्सकहरूलाई दोषारोपण गर्दै गैरकानूनी क्रियाकलाप गरिरहेको आरोप लगाइएको छ।

“स्व. सरोज सुब्बाज्यूको उपचारमा कुनै लापरवाही नभएको पुष्टि गर्न आवश्यक छानबिनका लागि हामी प्रतिबद्ध छौँ,” विज्ञप्तिमा भनिएको छ।

अस्पतालले यसप्रकारका आरोपहरूप्रति संवेदनशील रहेको उल्लेख गर्दै असत्य जानकारीमा विश्वास नगर्न सबैसँग अनुरोध गरेको छ। साथै, अस्पतालले आफ्नो सेवाको गुणस्तर र जिम्मेवारीलाई निरन्तर कायम राख्ने प्रतिवद्धता जनाएको छ।

नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो लक्ष्यलाई कायम राख्ने र यस घटनाले आफ्नो अभियानलाई प्रभावित गर्न नदिने बताएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको