Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरको एक वर्षको तलब भत्ता करिब ६५ लाख रूपैयाँ, डेपुटीले लिए कति ?

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, ११ : ४० मा प्रकाशित

गभर्नरको एक वर्षको तलब भत्ता करिब ६५ लाख रूपैयाँ, डेपुटीले लिए कति ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा तलब, भत्ता तथा अन्य सुविधा गरी ६४ लाख ६२ हजार रुपैयाँ बुझेका छन् ।   केन्द्रीय बैंकका गभर्नर अधिकारीले एक वर्षमा करिब ४५ लाख रुपैयाँ बराबरको अन्य भत्ता तथा सुविधासहित सो रकम लिएका हुन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार गभर्नर अधिकारीले १६ लाख ३२ हजार रुपैयाँ तलब र ४८ लाख ३० हजार रुपैयाँ भत्ता तथा सुविधासहित सो रकम बराबरको लाभ लिएका हुन् । अधिकारीले सञ्चालक समितिको बैठकमा सहभागी भएवापत ३ लाख ३३ हजार रुपैयाँ भत्ता बुझेका हुन् ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई प्रतिबैठक ९ हजार रुपैयाँ भत्ता दिइन्छ ।यसबाहेक इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक र स्वास्थ्य सुविधा पनि दिइएको हुन्छ ।

राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर सहित ७ सदस्य रहने व्यवस्था छ । गभर्नर सहित दुई जना डेपुटी गभर्नर कार्यकारी पद भएकाले उनीहरूको तलब तोकिएको हुन्छ । अर्थ सचिव र अन्य तीन जना सकारले नियुक्त गरेको सदस्य पनि सञ्चालक समितिमा रहने व्यवस्था छ ।

गभर्नर अधिकारीले ६४ लाख रुपैयाँभन्दा बढीको तलब, भत्ता तथा सुविधा लिँदा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले ६३ लाख १६ हजार र बम बहादुर मिश्रले ५८ लाख ४६ हजार रुपैयाँ तलब तथा सुविधा लिएका छन् ।

डेपुटी गभर्नर ढुंगानाले त गभर्नर अधिकारीको भन्दा बढीको सुविधा लिएकी छन् ।

ढुंगानाले ४५ लाख ५८ हजार रुपैयाँको सुविधा लिएकामा अधिकारीले मात्रै ४४ लाख ९७ हजार रुपैयाँको सुविधा लिएका छन् । ढुंगानाले बोर्डमा सहभागी भएवापत २ लाख ९७ हजार रुपैयाँ भत्ता बुझेकी छन् ।

उनको वार्षिक तलब १४ लाख ६० हजार रुपैयाँ रहेको छ ।यसैगरी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको तलब १४ लाख ६० हजार हुँदा वर्षभर ४३ लाख ८५ हजाररुपैयाँ बराबरको कुल भत्ता तथा सुविधा लिएका छन् । उनले सञ्चालक समितिमा उपस्थित भएवापत ३ लाख १५ हजार रुपैयाँ भत्ता बुझेका छन् ।

यता अर्थ मन्त्रालयका सचिवको रुपमा अर्जुनप्रसाद पोखरेलले १ लाख ३७ हजार रुपैयाँ बराबर भत्ता तथा सुविधा लिएका छन् । उनले ५४ हजार भत्ता र करिब ८४ हजार अन्य सुविधा बापत लिएका हुन् । अरू पूर्वअर्थ सचिव डा. कृष्णहरि पुष्करले १ लाख ७१ हजार भत्ता र २ लाख १० हजार अन्य सुविधा सहित करिब ३ लाख ७३ हजार बुझेका छन् ।

त्यस्तै अर्थ सचिव हुँदा मधुकुमार मरासिनीले भत्ता तथा सुविधावापत एक लाख ३९ हजार बुझेका छन् । उनले ६३ हजार भत्ता र बाँकी रकम अन्य सुविधा लिएका हुन् । अन्य सञ्चालकहरू चिन्तामणि शिवाकोटीले बैठक भत्ता ३ लाख २४ हजार र अन्य सुविधा ८ लाख ७३ हजार गरी ११ लाख ९७ हजार बुझेका छन् ।

अर्का सञ्चालक डा. शंकरप्रसाद आचार्यले बैठक भत्ता २ लाख ८८ हजार र अन्य सुविधा ११ लाख १३ हजार समेत कुल १४ लाख १ हजार बुझेका छन् । त्यसैगरी सञ्चालक डा. रवीन्द्रप्रसाद पाण्डेले भत्ता तथा सुविधा बापत ११ लाख ८६ हजार रुपैयाँ बराबर लिएका छन् । उनले बैठक भत्ता ३ लाख ३३ हजार र अन्य सुविधा ८ लाख ९३ हजार बराबर लिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको