अर्थ संसार, काठमाडौँ– आउँदो वर्षकै बर्षा यामदेखि नेपालमा बिजुली मागभन्दा बढी हुने भएको छ । तर, हिउँदमा भने अझै ५ वर्ष बिजुली अभाव हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ ।
चालू वर्षको बर्षामा समेत भारतबाट विद्युत् आयात गरेको प्राधिकरणले हालै गरेको प्रक्षेपणले भने आगामी बर्षामा विद्युत् बढी हुने देखाएको हो । सन् २०१८-१९ मा मात्र बर्षाको समयमा ४ सय ४१ मेगावाट विद्युत् बढी हुने प्रक्षेपणमा उल्लेख छ ।
प्रक्षेपण अनुसार विद्युत्को माग १ हजार ८ सय ४२ मेगावाट हुनेछ भने आपूर्ति २ हजार २ सय ८३ मेगावाट हुनेछ ।
निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै प्राधिकरण र निजी क्षेत्रबाट आउने बिजुलीको कारण बिजुली बढी हुने ठहर प्राधिकरणको छ । त्यसैगरी बर्षाहरूमध्ये २०१९-०२० मा ६ सय ६१ मेगावाट, २०२०-०२१ मा ९ सय ४६ मेगावाट, २०२१-०२२ मा ९ सय १ मेगावाट तथा २०२२-०२३ मा ६ सय ७० मेगावाट विद्युत् बढी हुने प्राधिकरणको प्रक्षेपण छ ।
गत बर्षामा समेत ५ करोड बराबरको बिजुली भारतलाई बेचिएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बर्षामा बिजुली बढी हुने र हिउँदमा भने अझै पनि अभाव हुने बताए ।
“माथिल्लो तामाकोसी र अहिलेको अवस्था अनुसार निजी क्षेत्रका आयोजनाहरू निर्माण हुँदा बर्षामा बिजुली बढी हुने र हिउँदमा भने अझै अभाव हुने देखिएको छ,” घिसिङले भने, “बर्षामा बढी भएको बिजुली छिमेकी राष्ट्र भारतमा बेच्ने र हिउँदमा किन्नुपर्ने अवस्था आउने हुनाले इनर्जी बैंकिङको कुरा अघि बढाएका छौं ।”
प्रक्षेपणले आगामी पाँच वर्षसम्म भने विद्युत् अभाव हुने देखाएको छ । जसअनुसार २०२२-२३ को हिउँदमा समेत ३ हजार ३ सय ६५ मेगावाट विद्युत् माग पुगे पनि २ हजार ७९ मेगावाट मात्र आपूर्ति हुनसक्ने तथा यसको कारणले ६ सय ७० मेगावाट अभाव हुने देखिएको छ ।
२०२१(२२ मा ३ हजार ६२ मेगावाट माग हुने र आपूर्ति भने २ हजार ५५ मेगावाटमात्र हुनेछ भने २०२०-०२१ मा माग २ हजार ६ सय ३८ मेगावाट पुग्ने र आपूर्ति भने १ हजार ९ सय २८ मेगावाट हुनेछ ।
यस्तै, सन् २०१९-०२० मा २ हजार २ सय २५ मेगावाट पुग्ने र आपूर्ति भने १ हजार ६ सय ८६ मेगावाट मात्र हुने तथा सन् २०१८-०१९ मा १ हजार ८ सय ४२ मेगावाट माग पुग्ने तथा आपूर्ति भने १ हजार ४ सय ७० मेगावाट हुने प्राधिकरणले प्रक्षेपण गरेको छ ।
अहिले भने विद्युत्को माग १ हजार २ सय ८० मेगावाट माग रहेकोमा तीन सय मेगावाट अभाव छ । हाल प्राधिकरणले भारतबाट ३ सय मेगावाट आयातसमेत गरिरहेको छ । कारोबारबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस