गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । नेपाल प्रेस युनियनले महेन्द्रनगरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए ।
उनले भने,'मुलुकमा स्थायित्व र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ,सरकारले सोहीअनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ ।'
उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए ।
गृहमन्त्रीले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन् ।
'दुई पार्टीका बीचमा सातबुँदे सहमति भएका छन्, हामी त्यो सहमति कार्यान्वयन गर्छौं, त्यहीअनुसार सरकार अघि बढ्छ,हाम्राबीचमा कुनै समस्या छैन, बेलाबेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ' उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस