नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीको स्थायित्व र निक्षेपकर्ताको सुरक्षामा राष्ट्र बैंक सदैव तत्पर रहेको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिकारीले बैंक डुब्न लागेको हल्ला पछिल्लो समय व्यापक चलेको र त्यसलाई अफवाहको रूपमा मात्र लिन आग्रह समेत गरे।
उनले भनेका छन्, ‘पैसा जम्मा गर्ने निक्षेपकर्ताको पैसा जोखिममा रहन दिंदैनौं। वित्तीय अवस्था बलियो नै छ, खराब कर्जा अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने नियन्त्रणमै छ।’
उनले वित्तीय संस्थाहरूले साना तथा ठूला कर्जाको परिचालनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
‘ब्यवसायको बिस्तारका लागि बैंकहरूले अग्रसर भएर काम गर्नुपर्छ। कुनै समस्या भएमा राष्ट्र बैंकसँग छलफल गर्न हामी सधैं तयार छौं’ उनले भने।
गर्भनर अधिकारीले बैंकका कर्मचारी संगठनलाई संस्थागत सुधार र अब्बल बैंकिङ सेवा प्रदान गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। अधिकारीका अनुसार कर्जाको दायरा बढाउँदै व्यवसायको ग्रोथलाई रोक्न नदिने नीति नै बैंकिङ क्षेत्रको प्राथमिकता हुनुपर्ने छ। साथै, साना कर्जाको व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्दै उनले आर्थिक वृद्धि र विकासका लागि बैंकिङ प्रणालीलाई थप सबल बनाउनु पर्नेमा जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस