ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरू गरेको छ। कम्पनीले ६० करोड रुपैयाँ जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ।
यसमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर आरक्षित गरिएको छ। कम्पनीले आवश्यक सरकारी स्वीकृति लिएर मात्र यो सेयर निष्कासनको प्रक्रिया अघि बढाएको हो।
कम्पनीले कुल सेयरमध्ये ५ प्रतिशत (९० हजार कित्ता) सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत (५४ हजार कित्ता) आफ्ना कर्मचारीका लागि छुट्याएको छ। बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
लगानीकर्ताहरूले कम्तीमा १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रवन्धकको जिम्मेवारी सम्हालेको छ। इच्छुक लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट आवेदन दिन सक्छन्। साथै, सीडीएससीको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ।
केयर रेटिङ नेपालले ओम मेगाश्री फर्मास्यूटिकल्सलाई ‘CARENP डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय स्थायित्व मध्यम स्तरको रहेको संकेत गर्छ।
कम्पनीको कुल परियोजना लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। हालसम्म ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ खर्च भइसकेको छ भने बाँकी २९ करोड ९ लाख ६३ हजार रुपैयाँ खर्च गर्न बाँकी छ। साधारण लगानी फिर्ता अवधि ७.१५ वर्ष तथा डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि ९.७५ वर्ष रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस