उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ढाल्ने शक्ति नभएकाहरुले सरकार ढल्छ भन्दै हिँडने गरेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयका गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएको स्पष्ट पारे।
उनले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ। जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो।’ उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको बताए।
उनले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा संविधानले दिएका नागरिकका हक, वाक तथा प्रेस स्वतन्त्रताकाविरुद्ध सरकार उभियो कि भन्ने आम रुपमा भ्रम फैल्याउने काम भएको बताए। उनले वर्तमान नेतृत्व वाक तथा प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताका र नागरिकका अधिकारका निम्ति जीवनभर लडेका राजनीतिक पार्टीक नेता कार्यकर्ता रहेकाले त्यस्तो स्वतन्त्रताकाविरुद्ध कदापि लाग्न नसक्ने स्पष्ट पारे।अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाललाई नियमनसम्बन्धी विधेयक वाक् तथा स्वतन्त्रताविरुद्ध नभएको स्पष्ट पारे। उनले नियमन गर्नु र स्वतन्त्रताकाविरुद्ध उभिनु एउटै विषय नभएको पनि स्पष्ट पारेका थिए।
उनले भने, ‘कसैले पनि आफूले गरेको कामका निमित्त आफै उत्तरदायी हुनुपर्छ। राम्रो काम गर्ने पुरस्कृत हुने र कमजोरी गर्ने आलोचना हुन्छ, अपराध गर्ने दण्डित हुनुपर्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस