प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताएका छन् ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताए ।
उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए । आफू पहिला प्रधानमन्त्री हुँदा ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारीरूपमा काम हुन नसकेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस