हिन्दू राष्ट्र पुनःस्थापना र राजसंस्थाको समर्थनमा काठमाडौंमा गरिएको प्रदर्शनको क्रममा भएको सरकारी दमनप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले कडा आपत्ति जनाएका छन्। उनले प्रदर्शनका क्रममा भएका अप्रिय घटनाहरूलाई खेदजनक भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत किर्तिपुरका युवा सविन महर्जन प्रहरीको गोली लागेर सहिद भएको र तिनकुनेमा लागेको आगोका कारण एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको उल्लेख गरेका छन्। उनले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूको चीरशान्तिको कामना गरेका छन्। साथै, दर्जनौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएको बताउँदै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
थापाका अनुसार तिनकुने क्षेत्रमा प्रहरीले प्रदर्शन सुरु हुनु अघि नै अश्रुग्यास प्रहार गरेपछि अवस्था अराजक बनेको हो। उनले सरकारी हस्तक्षेपकै कारण प्रदर्शन उग्र बनेको दाबी गरेका छन्। साथै, उत्तेजित भिडद्वारा नेकपा (यस) को पार्टी कार्यालय, प्रकाशन गृह, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयहरूमा भएको तोडफोड तथा आगजनीप्रति उनले भर्त्सना व्यक्त गरेका छन्।
राजधानीमा भएको हिंसात्मक घटनाका विषयमा विभिन्न दलहरूले आआफ्नो धारणा व्यक्त गरिरहेका छन्। सरकार र सुरक्षा निकायले भने अवस्था नियन्त्रणमा रहेको बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस