नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्माता दीपक राज गिरीले हालको राजनीतिक अवस्था र नेताहरूको कार्यशैलीप्रति सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा विगतका राजनीतिक अनुभवहरूलाई स्मरण गर्दै, हालको परिस्थिति प्रति असन्तोष व्यक्त गरेका छन्।
गिरीका अनुसार उनी विभिन्न समयमा विभिन्न नेताहरूको विचारबाट प्रभावित भए। २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग जोडिएको अनुभव सुनाउँदै उनले भनेका छन्, "नेविसंघ काठमाडौँ जिल्ला सदस्य हुँदै करिब एक दशक कांग्रेसको राजनीति गरेँ, त्यसपछि राजनीति छाडेर कलाकारितामा लागेँ।"
२०६२/६३ को आन्दोलनताका माओवादी नेता प्रचण्डको क्रान्तिकारी विचारले उनलाई प्रभावित तुल्याएको उल्लेख गर्दै उनले त्यसबेला पनि आफू राजसत्ताविरोधी भएको खुलाए। त्यसपछि केपी शर्मा ओलीको नेतृत्व र राष्ट्रियताको अडान मन परेर पटक–पटक उनी ओलीको समर्थनमा उभिएको उनले उल्लेख गरे।
तर, पछिल्लो समय कुनै पनि राजनीतिक दलमा आबद्ध नभए पनि लोकतान्त्रिक सोचलाई जीवित राखेको बताएका छन्। उनले फेसबुक स्टाटसमा लेखेका छन्, "अब नयाँ विचार, नयाँ नेता आएपछि यहाँ गणतन्त्रलाई पखाला चल्छ, प्रजातन्त्र नै खतरामा पर्छ। पुरानो नेताहरूले शासन शैली सुधार्न सकेनन्, त्यसैले जनतामा निराशा बढेको हो।"
उनले नेताहरूलाई नै राजा स्वीकारिरहेको भन्दै व्यंग्य गर्दै भनेका छन्, "तपाईंहरूले नै राम्रोसँग राजकाज चलाउनुस्, तपाईंहरूलाई नै राजा मानिरहेको छु र मानिरहन पाऊँ। सधैं राजावादी भैरहन पाऊँ!"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस