Like us!
Follow us!
Connect us!
Watch us!

गर्लफ्रेन्ड बनाउँदै, करोडौँ ठग्दै

शुक्रबार, १७ मंसिर २०७३, ११ : ३४ मा प्रकाशित

गर्लफ्रेन्ड बनाउँदै, करोडौँ ठग्दै

काठमाडौं – फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो समय ३० जनाभन्दा धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । ठगिनेमध्ये धेरै उनका गर्लफ्रेन्डनिकट व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसरी नै उनले एक दशकदेखि ठग्दै आएका आजको नयाँ पत्रिकामा समाचार छ । 

भारतको लखनउमा बस्ने पोखरेलले गर्लफ्रेन्ड र आफ्ना विश्वासपात्र व्यक्तिमार्फत पैसा उठाउने गरेका थिए । गर्लफ्रेन्ड र आफन्तलाई समेत झुक्याएर उनले विदेश जान खोज्ने तथा सरकारी जागिर खाने व्यक्तिलाई खोज्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

पोखरेलले कतिपय अवस्थामा उनीहरुमार्फत नै पैसा लिने र कतिपय अवस्थामा आफ्नो बैंक खातामा पैसा हाल्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एटिएममार्फत भारतमै बसेर उनले पैसा निकाल्ने गरेका थिए । परिचय लुकाउन हिमालयन बैंकमा नक्कली नागरिकताका आधारमा मनोज रिजालको नाममा पोखरेलले खाता खोलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।   अभियुक्त पोखरेल ठगका माष्टरसमाइन्ड भएको खनालको भनाइ छ । नक्कली कागजपत्र बनाउनेदेखि आफुलाई चर्चित नेताको रुपमा प्रस्तुत गरेर उनले ठगी गर्दै आएका थिए ।

विगत ६ महिनादेखि नै प्रहरीले पोखरेललाई पिछा गरेको थियो । पहिलेदेखि नै उनी लखनउमा रहेको प्रहरीले थाहा पाएको थियो । तर भारतीय प्रहरीले असहयोग गर्दा उनी पक्राउ परेका थिएन । उनी अमेरिका भाग्ने तयारीमा थिए । काठमाडौंस्थित अमेरिकन दुतावासमा बुधबार उनको अन्र्तवार्ता थियो । सोही अन्र्तवार्ताका लागि नेपाल आएको बेला पक्राउ परेका हुन् । महाशाखाका इन्सपेक्टर गोविन्द पन्थी नेतृत्वको टोलीले उनलाई कमलपोखरीको क्राउन प्लजा होटलबाट पक्राउ गरेको हो ।

जनार्दन शर्मा बनेर एक करोड ठगी

माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको थियो । उनले माओवादी नेता जनार्दन शर्मासँग मिल्दोजुल्दो फोटो राखेर तत्कालिन किष्ट फाइनान्समा सोही नाममा खाता खोले । बैंकका उच्च पदस्थ कर्मचारीलाई फोन गरी आफु जनार्दन शर्मा भएको र फाइनान्समै खाता भएकै र एउटा कार्यक्रमका लागि १० लाख रुपैयाँ सापटी सोही खातामा राखिदिन आग्रह गरे ।

स्वर ठ्याक्कै नेता शर्माको जस्तो थियो, बैंक खाता उनकै नाममा थियो । केही दिनका लागि भनेर आग्रह गरेपछि  बैंकले पनि १० लाख दिइदियो । भनेकै अवधिमा उनले उक्त रकम फिर्ता परी गरिदिए ।  त्यसैगरी उनले २०, ३० र ५० लाख रुपैयाँ बैंकबाट निकाले । तोकिएकै मितिमा पैसा फिर्ता गरिदिए । बैंक उनको कारोबारप्रति बिश्वस्त भयो । त्यसरी चार पटक पैसा निकाल्नुको उदेश्य  नै बैैंकको बिश्वास जित्नु थियो । पाँचौं पटक त्यसैगरी उनले बिना धितो १ करोड रुपैयाँ निकाले । त्यसपछि उनी फरार भए ।

बैंकले नेता शर्मालाई सम्पर्क गर्यो। तर उनले आफुलाई केही थाहा नभएको बताए । बैंकमा खाता समेत नखोलेको बताएपछि छानबिन गर्दा ठगले त्यसरी शर्माको नाममा पैसा निकालेको खुल्यो । केही महिनापछि महानगरीय अपराध महाशाखाके टोलीले उनलाई बुटवलबाट पक्राउ गर्यो । प्रहरीलाई पक्राउ गर्ने क्रममा प्रहरीको गाडिलाई ठक्कर दिएर भाग्न खोजेका थिए । तर सफल भएनन् ।

त्यस्तै नबील बैंकमा माओवादीकै नेता हिमाल शर्माको नाममा खाता खोलेर ठगी गरेका थिए । अरु केही व्यक्तिहरुलाई पनि उनले विभिन्न नेताको क्यारिकेचर गरी झुक्याएर ठगी गरेको प्रहरीले जनाएको छ ।  कतिपय पीडितलाई सिंहदरबार समेत लगेर उनले आफ्नो पहुँच देखाई ठगी गरेका थिए । कतिपयलाई इजरायलको कोटा आएको छ भनेर त केही कोरिया पठाउने भनेर ठगी गरेका हुन् ।

प्यूठानको तोर्वाङ घर भएका उनी एक दशक पहिलेदेखि नै ठगीका संलग्न रहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध बाँके अदालतमा समेत ठगी मुद्दा चलेको छ ।केही वर्ष भारतीय सेनामा समेत काम गरेका उनले भारतमै उनले राशनकार्ड बनाइसकेका थिए ।   सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ । २३  जनासँग  १ करोड ५ लाख  रुपैयाँ लिएका थिए । त्यस्तै सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भनी ३ लाख लिएका थिए ।

रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी २ लाख ५० हजार  लिएको प्रहरीले जनाएको छ । उक्त ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई २ वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेकोमा उनी फरार भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको