रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ।
सो फण्डको इकाई खरिदका लागि अब बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्काशन गरिएको कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड १५ लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन भर्न सकिनेछ । माग भन्दा बढीको आवेदन परेको अवस्थामा योजनाको आकार २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने जनाइएको छ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस