रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्की आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीमुनिको भाग र शरीरको करिब ३१.५ प्रतिशत हिस्सा जलेको छ।
घटना लगतै गम्भीर घाइते भएका सहनीलाई तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। अस्पतालले बुधबार बिहान करिब ४ बजे जानकारी गराएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा एउटा टोली घटनास्थल र अस्पताल पुगेर स्थिति बुझेको थियो।
बेटर नेपाल अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि सहनीलाई थप र विशेष उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ। हाल उनको अवस्था मध्यम रहेको र उनले किन आत्मदाहको प्रयास गरे भन्नेबारे जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस