होटेल सारथी प्रा.लि.ले सर्वसाधारणका लागि प्राथमिक सेयर (IPO) निष्कासन गर्न सिटिजन्स क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। कम्पनीले जारी तथा निष्कासन प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटललाई नियुक्त गर्दै औपचारिक रूपमा सेयर निष्कासन प्रक्रियाको थालनी गरेको हो।
सम्झौतासम्बन्धी दस्तावेजमा होटेल सारथीका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो अवसरमा होटल परिसरमै एक विशेष समारोहको आयोजना गरिएको थियो।
सम्झौताअनुसार, होटेल सारथीले आफ्नो जारी पुँजीको ३० प्रतिशत बराबर १५ लाख कित्ता साधारण सेयर, अर्थात् १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ। सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ।
२०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेलस्थित एक प्रसिद्ध लक्जरी होटेल हो। २०७६ सालको चैतदेखि सञ्चालनमा आएको यस होटेलमा ८० वटा कोठाहरू छन्, जसमा प्रेसिडेन्सियल सुइटदेखि डिलक्ससम्म विभिन्न वर्ग समावेश छन्। साथै, चारवटा सभा हल, रूफटप इन्फिनिटी पुल, पुल बार, र हिमाल दृश्यावलोकनको सुविधा यस होटेलका विशेष आकर्षणहरू हुन्।
छोटो समयमै होलिडेज, कर्पोरेट इभेन्ट, डेस्टिनेसन वेडिङ लगायतका क्षेत्रमा लोकप्रियता कमाएको होटेलले स्थानीय स्रोत र सामग्रीलाई प्राथमिकता दिँदै मेनु निर्माण गर्दै आएको छ। यसले रोजगारी सिर्जना, सीप विकास तथा सामुदायिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुर्याएको छ।
सारथी समूह अन्तर्गत बहुउद्देश्यीय सहकारी, स्कूल, वेलफेयर फाउन्डेशन, तालिम केन्द्र, सारथी मार्ट, सारथी भेन्चर्स तथा सारथी होलिडेज पनि सञ्चालनमा छन्। १९ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा अर्गानिक फार्म, रोप साइक्लिङ्ग, स्पोर्ट्स सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छन्। समूहले सौराहामा दोस्रो प्रोपर्टी सञ्चालनमा ल्याइसकेको छ भने भविष्यमा अन्य पर्यटकीय गन्तव्यमा पनि आफ्नो ब्राण्ड विस्तार गर्ने योजना रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस