नेप्सेमा लगातार चार दिनसम्म ओरालो यात्रापछि लगानीकर्ताहरुमा गहिरो निराशा र अन्यौलता उत्पन्न भएको छ। साताको सुरुवातदेखि नै बजारमा देखिएको निरन्तर गिरावटले बजार संकेतक नेप्से परिसूचकलाई २६५५.९४ अंकसम्म पुर्यायो। यो चार दिनमै ६६.७९ अंकको गिरावट हो, जसमा बुधवार मात्र ३२.३८ अंकको गिरावट आएको छ।
लगातार गिरावटसँगै बजारमा व्यापक रुपमा नकारात्मक मनोविज्ञान फैलिएको छ। यधपि विश्लेषकहरूका अनुसार बजारमा गिरावट स्वाभाविक ‘कोररेक्शन’ हो र यस्तो अवस्था प्रायः नयाँ उकालो यात्राको पूर्व संकेत बन्न सक्छ।
बजार विश्लेषक तथा ब्रोकरहरू अब बजारले बाउन्स ब्याक गर्ने संकेत देखिन थालेको बताउँछन्।
नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको करिब तीन साता भइसक्दा पनि सरकारले स्पष्ट निर्णय गर्न सकेको छैन। यसले लगानीकर्ताबीच अन्यौलता सिर्जना गरेको छ, जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको धेरैको बुझाई छ। तर, गृह मन्त्री रमेश लेखकको पछिल्लो अभिव्यक्तिले अब राजनीतिक स्थायित्वप्रति आश्वस्त पार्ने प्रयास गरेका छन्।
गृहमन्त्री लेखकले पत्रकारसँगको कुराकानीमा भने, "सरकारमा कुनै समस्या छैन। सिफारिस समितिको एक सदस्यले राजीनामा दिएका छन् भने फेरि समितिलाई पूर्णता दिएर गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाइनेछ।" उनले यस विषयमा आउँदो मन्त्रिपरिषद्को बैठकमा निर्णय लिइने जानकारी समेत दिए।
यसैबीच सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड भ्रमणबाट फर्किएपछि गभर्नर नियुक्ति प्रक्रिया टुंगो लाग्ने प्रष्ट भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच गुणाकर भट्टलाई गभर्नर बनाउने मौखिक सहमति भइसकेको छ। भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा पनि दिएका छन्। यद्यपि, उक्त राजीनामा कायममुकायम गभर्नर निलम ढुंगानाले अझै स्वीकृत नगरेको अवस्था छ।
कानुन व्यवसायीहरूका अनुसार, राजीनामा स्वीकृत नभए पनि गभर्नर नियुक्तिमा कानुनी अड्चन छैन। यसैले अब केही दिनभित्रै राजनीतिक सहमतिमा आधारित गभर्नर नियुक्तिले बजारलाई सकारात्मक संकेत दिने अपेक्षा गरिएको छ।
बजार घट्नाको एक प्रमुख कारण बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को अस्वाभाविक रूपमा उच्च कारोबार रहेको ब्रोकरहरुले भन्ने गरेका छन् । कम्पनीको लकइन अवधि सकिएपछि संस्थापक समूहमार्फत भएको सेयर बिक्रीले बजारमा एक किसिमको हल्ला र अनिश्चितता सिर्जना गर्यो।
०२ वैशाख २०८२ मा मात्र BHL को २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो, जुन सो दिनको कुल कारोबारको २३% थियो। यति ठूलो कारोबार सीमित ब्रोकरबाट भएपछि सेटलमेन्ट प्रक्रियामा समस्या आयो। यसले ब्रोकरहरूलाई लगानीकर्ताको सीमा कडा पार्न बाध्य बनायो। स्वाभाविक रूपमा, बजारमा नगद प्रवाह घट्दा सूचकमा गिरावट आउनु अस्वाभाविक थिएन।
तर, अब ब्रोकरहरूले सेटलमेन्ट समस्या समाधान भएको भनेका छ। एक ब्रोकर कर्मचारीका अनुसार, “BHL को अस्वाभाविक कारोबारबाट उत्पन्न सेटलमेन्ट समस्याहरू व्यवस्थापन गरिएका छन्, अब लगानीकर्ता पुनः क्रियाशील हुने सम्भावना छ।”
लगातार चार दिनको गिरावटपछि बजार प्राविधिक रूपमा सुधार चरणमा प्रवेश गर्ने सम्भावना प्रबल हुन्छ। बजारले आइतबारदेखि बुधबारसम्म ६६.७९ अंकको गिरावट ब्यहोरेको छ। यो गिरावट अब प्राविधिक रूपमा 'oversold' अवस्थामा पुगिसकेको देखिन्छ। यस्तो अवस्थामा सामान्यतः बजारमा सानो सकारात्मक सूचना आए पनि सुधार देखिन्छ।
जसरी बजार ओरालो लाग्दाको बेला लगानीकर्ताले डर र हल्लामा बिक्री गरेका थिए, त्यसैगरी सुधारका संकेत देखिँदा बजारमा छिटो प्रवेश गर्न सक्ने सम्भावना पनि देखिन्छ। तर, केही जोखिमहरू अझै कायम छन्:
गभर्नर नियुक्ति प्रक्रिया अझै औपचारिक रूपमा टुंगो लागिसकेको छैन।
बैंक तथा वित्तीय संस्थाहरूको तेस्रो त्रैमासिक नाफा कमजोर छ।
खराब कर्जा वृद्धि हुँदै गएको देखिन्छ।
यी जोखिमहरूका बाबजुद पनि बजार सुधारको दिशा तर्फ अग्रसर हुँदै छ। मुख्यतः गभर्नर नियुक्तिको विषयले अब राजनीतिक रूपमा अन्तिम चरणमा पुगेको, सेटलमेन्ट समस्या समाधान भएको, र बजार प्राविधिक सुधारमा प्रवेश गरेको अवस्था लगानीकर्तालाई पुनः आशावादी बनाउने खालका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस