Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा गर्मी र आईपीएलका कारण बिजुलीको माग बढ्दा नेपाललाई आवश्यक आपूर्ति नपुगेको विद्युत प्राधिकरणको भनाइ

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०८२, ०७ : २२ मा प्रकाशित

भारतमा गर्मी र आईपीएलका कारण बिजुलीको माग बढ्दा नेपाललाई आवश्यक आपूर्ति नपुगेको विद्युत प्राधिकरणको भनाइ

नेपाल विद्युत प्राधिकरणले भारतमै बिजुलीको माग अत्यधिक बढेको कारण नेपालले चाहेजति बिजुली आयात गर्न नसकेको जनाएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा भारतमा गर्मीयाम सुरु भएसँगै विद्युत खपत तीव्र गतिमा बढेको र इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल सञ्चालन भइरहेकाले थप खपत बढेको उल्लेख छ। यसले गर्दा नेपालले पावर एक्सचेन्जमार्फत माग गरेअनुसार विद्युत आपूर्ति हुन नसकेको हो।

हाल नेपालमा आन्तरिक उत्पादन औसत १,१७५ मेगावाट रहेको छ। तर, अधिकतम माग २,०७७ मेगावाट पुगेको छ। प्राधिकरणका अनुसार अधिकतम उत्पादन १,५९३ मेगावाटसम्म भएपनि बाँकी विद्युत भारतबाट ल्याउनु परिरहेको छ।

भारतसँगको सम्झौता अनुसार नेपालले १३२ के.भी लाइनमार्फत अधिकतम ३५० मेगावाटसम्म आपूर्ति पाउने भए पनि अहिले मैनैया–सम्पतिया लाइनबाट जम्मा ५० मेगावाट मात्रै आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।

यस्तै, इन्डियन एक्सचेन्जमार्फत विहान ६ बजे देखि बेलुका ५ बजेसम्म र राति ११ बजे देखि विहान ४ बजेसम्म खरिद प्रयास गर्दा पनि समानुपातिक (प्रो–राटा) वितरण भएकोले आवश्यकता अनुसार आपूर्ति हुन नसकेको प्राधिकरणले स्पष्ट पारेको छ।

उर्जा व्यवस्थापन कठिन भइरहेको जनाउँदै प्राधिकरणले औद्योगिक क्षेत्रमा आंशिक लोड दिइएको जानकारी दिएको छ। यद्यपि, नदीनालामा बहाव बढ्ने र भारतबाट आपूर्ति सहज हुने सम्भावना रहेकाले समस्या चाँडै समाधान हुने प्राधिकरणको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको