पुँजी र बिजनेस आकारमा आधारमा देशका ठूला बैंकहरु गैर बैंकिङ सम्पत्तिको कारण थलिने देखिएको छ । लिलाम गर्दा पनि नबिकेको धितो अर्थात् निष्क्रिय कर्जा डेढ वर्षको अन्तरमा दोब्बर हुँदा बैंकहरुलाई चरम दबाब हुने देखिएको हो ।
हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति चालु आवको फागुन मसान्तसम्मको अवधिमा ८०.०३ प्रतिशतले बढेको हो ।बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वीकृत गरेर राख्ने सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति मानिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३६ अर्ब २० करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६ अर्ब ९ करोड ५६ लाख रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति २० अर्ब ११ करोड ११ लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको फागुनसम्म विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३७.५६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७९.२० प्रतिशतले बढेको छ ।
कुन बैंकको कति ?
गैरबैंकिङ सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति १४५ प्रतिशतले बढेर ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा गैरबैंकिङ सम्पत्ति धेरै हुने दोस्रो स्थानमा रहेको हिमालयन बैंक रहेको छ । चालु आवको ८ महिनामा हिमालयनसँग ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । जुन गत आवको तुलनामा ४३७ प्रतिशतले बढी हो ।
त्यस्तै, एनआईसी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति ३५ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड, नबिल बैंकको १५४ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५८ प्रतिशतले बढेर ३ अर्ब १० करोड, कुमारी बैंकको ३८ प्रतिशतले बढेर २ अर्ब ५८ करोड र प्राइम बैंकको २.५४ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
चालु आवको फागुन मसान्तसम्ममा लक्ष्मी सनराइजको१९ प्रतिशतले बढेर १ अर्ब ६२ करोड, प्रभु बैंकको ११९ प्रतिशतले बढेर १ अर्ब २६ करोड, एनएमबि बैंकको ४४ प्रतिशतले बढेर १ अर्ब १४ करोड, सिटिजन्स बैंकको २५० प्रतिशतले बढेर १ अर्ब ५ करोड, कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । अन्य ७ बैंकको गैरबैंकिङ सम्पत्ति भने १ अर्ब तल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस