Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङको चमकसँगै बजारमा हरियो झल्को, गभर्नरको अभिव्यक्तिले थप्यो आत्मविश्वास

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, १६ : ३७ मा प्रकाशित

बैंकिङको चमकसँगै बजारमा हरियो झल्को, गभर्नरको अभिव्यक्तिले थप्यो आत्मविश्वास

बिहीबार सेयर बजारमा बैंकिङ्ग सेक्टरको उत्कृष्ट प्रदर्शनसँगै बजार उकालो लागेको छ। नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा पुग्दा बैंकिङ्ग क्षेत्रको परिसूचक मात्रै ३.८२ प्रतिशतले उक्लिएको छ।

बजारमा अधिकांश उपसमूहको परिसूचक घट्दासमेत बैंकिङ्ग र लघुवित्तको मजबुत प्रदर्शनले समग्र बजारलाई हरियो बनाएको हो। यस्तै, माइक्रोफाइनान्स उपसमूह पनि २.५८ प्रतिशतले बढ्न सफल भयो।

बजारमा कुल ३१४ स्टकको ८६ हजार ६८५ पटकको कारोबारबाट ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको २ करोड २३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि बजारमा लगानीकर्ताको मनोबल भने बैंक तथा वित्तीय क्षेत्रको बलियो सुधारसँगै उचालिएको देखिएको छ।

ओम मेगाश्रीको सर्किट अप, बाराही हाइड्रोको सर्किट डाउन

बिहीबार ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई १,०२४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भयो। त्यस्तै, एनआईसी एशिया बैंकको सेयर ७.८ प्रतिशतले, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आइएमई बैंकको ६.१२ र कुमारी बैंकको ६.०६ प्रतिशतले उक्लिए।

बरू, बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट लेभलमा पुगेको छ।

सबैभन्दा धेरै कारोबार ङादी ग्रुपको

कारोबार रकमका आधारमा बिहीबार ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो। यस कम्पनीको ६९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। राधी विद्युत कम्पनी र कुमारी बैंक पनि उच्च कारोबार भएका कम्पनीहरूमा परे।

गभर्नर डा. पौडेलको प्रतिबद्धता : सेयर बजारलाई विश्वसनीय बनाउने

बिहीबारको सेयर बजार सुधारसँगै गभर्नर डा. विश्वनाथ पौडेलको पूंजीबजारप्रतिको स्पष्ट धारणा बजारमा थप आशा र आत्मविश्वास दिने संकेतको रूपमा आएको छ।

एक टेलिभिजन अन्तर्वार्तामा डा. पौडेलले पूंजीबजारलाई हल्का रूपमा नलिने चेतावनी दिँदै जनताको खर्बौं लगानी सुरक्षित राख्न नियामकका तर्फबाट आवश्यक सबै पहल गरिने बताएका थिए।

“पूंजीबजारमा जनताको खर्बौं लगानी भएको छ। त्यसलाई सुरक्षित र सुदृढ बनाउन सकिने सबै काम गरिनेछ,” गभर्नर पौडेलको भनाइ थियो।

उनको अभिव्यक्तिले बजारमा दीर्घकालीन विश्वास निर्माण गर्ने र नीतिगत स्थायित्वमा जोड दिने संकेत गरेको छ।

मर्जरमा जबर्जस्ती नहुने स्पष्टता, सुपरीवेक्षण पहिलो प्राथमिकता

गभर्नर पौडेलले मर्जर नीति प्रोत्साहनमा आधारित हुने बताए। जबर्जस्ती मर्जर नहुने उनको भनाइले लगानीकर्ता र बैंक व्यवस्थापन दुवैमा स्थायित्वको भावना ल्याउने विश्वास गरिएको छ।

उनले बैंक तथा वित्तीय संस्थाहरूको सुपरीवेक्षण प्राथमिकताको एजेन्डा बनाउने बताएका छन्, जसले सेयर बजारमा पारदर्शिता र विश्वास निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको