Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, १६ : ३१ मा प्रकाशित

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई कार्यशैलीमा सुधार ल्याउँदै परिणाममुखी ढंगले काम गर्न कडाइका साथ निर्देशन दिएका छन्। मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले आर्थिक वर्षको सुरुवातमा गरिएको कार्यसम्झौताको पूर्ण कार्यान्वयन गर्न सम्बन्धित विभाग तथा संस्थानहरूलाई निर्देशन दिए।

मन्त्री भण्डारीले आफू र सचिवहरूको प्रधानमन्त्रीसँग भएको सम्झौता, साथै सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेको सहमतिका कामहरू शतप्रतिशत सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नीतिगत जटिलता वा अन्य बहानामा काममा ढिलासुस्ती गर्नु अब स्वीकार्य नहुने स्पष्ट पारे।

उनले भने, 'आर्थिक वर्षको सुरुवातमा हामीले जे सहमति गरेका थियौं, ती सबै व्यवहारिक र सम्भव कार्यहरू हुन्। कतिपय कार्यहरू सम्पन्न भइसकेका छन् तर अझै पनि धेरै काम अधुरा छन्। ती समयमै पुरा हुनुपर्छ – असफलताका लागि अब कसैलाई छुट छैन।'

मन्त्री भण्डारीले आजैको मितिबाट सबै निकायलाई कामको गति तीव्र बनाउने निर्देशन दिएका छन्।

मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले कानुन, जनशक्ति, संरचना सबै पर्याप्त हुँदाहुँदै पनि अपेक्षित नतिजा हासिल गर्न नसक्नु दुःखद पक्ष भएको उल्लेख गरे। उनले कर्मचारीहरूमा जोखिम नलिन खोज्ने, समन्वय गर्न नसक्ने जस्ता कमजोरी रहेको बताउँदै, अन्तरक्रियामार्फत समस्या पहिचान गरी समाधानसहित परिणाममुखी कार्यमा लाग्न आह्वान गरे।

प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशनअनुसार कार्यशैलीमा सुधार ल्याएर जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, विभिन्न संस्थानका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थिति थियो। अन्तरक्रियामा चालु आर्थिक वर्षको सुरुवातमा लिइएका लक्ष्यहरू र हालसम्मको उपलब्धिबारे समेत विस्तृत छलफल गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको