प्रतिनिधिसभाको आजको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक भोलि बिहान ११ बजे पुनः बस्ने जानकारी दिएको हो।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले आजको बैठक अवरुद्ध गरेका थिए।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति जुटाउन पहल गरेका थिए। उपसभामुख, प्रमुख सचेतक तथा मुख्य सचेतकहरूको उपस्थितिमा संयुक्त छलफलसमेत आयोजना गरिएको थियो। तर, सबै दलहरू आ–आफ्नो अडानमा अडिग रहेकाले सहमति हुन सकेन।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्रीलाई संसद्मा आफ्नाे स्पष्टीकरण दिने अवसर दिनु पर्ने अडान राखेका थिए। तर, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमै अडिएका थिए।
भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुली गरी नेपाली युवाहरूलाई विदेश पठाइएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप विपक्षीहरूले लगाएका छन्। सोही आरोपको स्पष्टीकरण दिन गृहमन्त्री सदनमा उपस्थित भएका थिए तर, विपक्षीले उनलाई बोल्न नदिई निरन्तर अवरोध गरे।
सहमति जुटाउने प्रयासस्वरूप सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर सहमति हुन नसकेपछि दिउँसो साढे २ बजेसम्मको लागि फेरि बैठक स्थगित गरिएको र अन्ततः भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना जारी गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस