अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा रोक लगाएको छ । विदेशमन्त्री मार्को रुबियोले आदेश जारी गर्दै विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा रोक लगाएका हुन् । यस आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरू रोक्नु रहेको बताइएको छ ।
रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई आदेश जारी गर्दै भने - उनीहरूले विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ता तालिका बनाउने छैनन्, किनभने ट्रम्प सरकारले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको अनुसन्धानलाई कडा बनाउनेछ ।
उनले थप भने- तत्काल प्रभावबाट, कन्सुलर खण्डले थप निर्देशिका जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज आगन्तुक (एम, एम र जे) भिसाका लागि नयाँ अन्तर्वार्ताको अनुमति दिने छैनन् । पहिले निर्धारित अन्तर्वार्ताहरू हुन सक्ने भए पनि, सूचीमा नयाँ अन्तर्वार्ताको मिति तय नहुने आदेशमा स्पष्ट गरिएको छ ।
यो रोक एफ, एम र जे भिसा कोटीहरूमा लागू हुने छ, जसले अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरू र एक्सचेन्ज आगन्तुकहरूलाई समेट्छ । यी कार्यक्रमहरू मार्फत आउने विद्यार्थीहरू अमेरिकी सुरक्षाको लागि खतरा हुन सक्छन् वा यहूदी विरोधी वातावरणलाई बढावा दिन सक्छन् भन्ने दाबी गरिएको छ ।
ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने सामग्री पत्ता लगाउन इन्स्टाग्राम, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमा पोस्ट, लाइक, टिप्पणी र सेयरहरूको अनुसन्धान गर्न अधिकारीहरूलाई पनि आदेश दिएको छ ।
द गार्जियनका अनुसार, अधिकारीहरूले मार्चदेखि प्यालेस्टाइन समर्थक विरोध प्रदर्शनमा संलग्न विद्यार्थीहरूको सामाजिक सञ्जालको अनुसन्धान गरिरहेका छन् । यद्यपि, आदेशले भविष्यमा सामाजिक सञ्जाल अनुसन्धानमा के हेरिनेछ भनेर स्पष्ट रूपमा उल्लेख गरेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस