अमेरिकाको गृह सुरक्षा विभाग (DHS) ले हाल प्रयोग हुँदै आएको “Duration of Status” प्रणाली अन्त्य गरी निश्चित अवधिको भिसा प्रणाली ल्याउने प्रस्ताव अघि सारेको छ। यस अनुसार गैर–आप्रवासी शैक्षिक विद्यार्थी (F), एक्सचेन्ज भिजिटर (J) तथा विदेशी सूचना–सञ्चार माध्यमका प्रतिनिधि (I) हरूलाई अब अनिश्चितकालीन अवधि नभई निश्चित समयका लागि मात्र प्रवेश अनुमति दिइनेछ।
अमेरिकी इमिग्रेशन तथा कस्टम्स इन्फोर्समेन्ट (ICE) द्वारा सार्वजनिक Notice of Proposed Rulemaking (NPRM) अनुसार अब यी भिसाधारीले तोकिएको म्यादभन्दा बढी अमेरिकामा बस्न चाहने हो भने प्रत्यक्ष रूपमा DHS समक्ष Extension of Stay (EOS) का लागि आवेदन दिनुपर्नेछ।
प्रस्तावित प्रमुख परिवर्तनहरूमा—
F र J भिसाधारीलाई अधिकतम ४ वर्षसम्म मात्र प्रवेश अनुमति,
F–1 विद्यार्थीलाई अध्ययन पूरा भएपछि दिइने ग्रेस पिरियड ६० दिनबाट घटाएर ३० दिन,
स्नातकोत्तर (Graduate Level) विद्यार्थीलाई अध्ययन अवधिमा प्रोग्राम परिवर्तनमा रोक,
I भिसाधारीका लागि अधिकतम २४० दिनको सीमा, चीन सम्बन्धी केही विशेष केसबाहेक।
DHS का अनुसार यस प्रणालीले इमिग्रेशन अधिकारीलाई निश्चित अन्तरालमा प्रत्यक्ष रूपमा गैर–आप्रवासीहरूको गतिविधि अनुगमन गर्ने अवसर दिनेछ। हालको “Duration of Status” प्रणालीले अनिश्चितकालीन बसाइको अनुमति दिने भएकाले गैर–आप्रवासीहरू केवल स्वीकृत गतिविधिमै संलग्न छन् कि छैनन् भन्ने प्रत्यक्ष प्रमाणीकरण गर्न कठिन भएको विभागले जनाएको छ।
गृह सुरक्षा विभागले प्रस्तावित परिवर्तनलाई राष्ट्रिय सुरक्षा र अनुगमन सम्बन्धी चासोका कारण अघि सारेको स्पष्ट पारेको छ। विभागका अनुसार, २०२३ मा मात्र १६ लाखभन्दा बढी F–1 विद्यार्थी, ५ लाखभन्दा बढी J एक्सचेन्ज भिजिटर र ३२,४७० I भिसाधारी अमेरिकामा प्रवेश गरेका थिए।
DHS का अनुसार नयाँ ढाँचा अन्य अधिकांश गैर–आप्रवासी भिसा प्रणालीसँग मिल्दोजुल्दो हुनेछ, जहाँ भिसा धारकलाई निश्चित अवधिका लागि मात्र प्रवेश दिने व्यवस्था छ। यसले धोखाधडी र दुरुपयोग रोक्न मद्दत गर्ने र विद्यार्थी, एक्सचेन्ज भिजिटर तथा पत्रकार भिसा प्रणालीलाई अझ विश्वसनीय बनाउन योगदान पुर्याउने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस