सरकारले मुलुकको अर्थतन्त्रलाई सुदृढ र गतिशील बनाउनका लागि बहुआयामिक र सार्थक प्रयासहरू अघि बढाउने लक्ष्य लिएको छ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सरकारका प्रमुख आर्थिक प्राथमिकताहरू सार्वजनिक गरेका हुन्।
बजेटमा मुलुकलाई निर्धारित समयभन्दा अगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूची (ग्रे लिस्ट) बाट हटाई नेपालको अर्थतन्त्रप्रति अन्तर्राष्ट्रिय विश्वसनीयता अभिवृद्धि गर्ने सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख गरिएको छ।
त्यस्तै, पहिलोपटक प्राप्त भएको सकारात्मक सार्वभौम क्रेडिट रेटिङलाई विदेशी पुँजी आकर्षणको अवसरका रूपमा उपयोग गर्दै थप सुधार कार्यक्रममार्फत अझ उच्च रेटिङ प्राप्त गर्ने सरकारको योजना छ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्न, लगानीमैत्री वातावरण बनाउन र सार्वजनिक लगानीलाई प्रतिफलमुखी क्षेत्रमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताइएको छ। अध्यादेशमार्फत गरिएको कानुनी सुधारबाट उत्साहित निजी क्षेत्रको पूँजी र प्रविधिलाई आकर्षित गर्दै अर्थतन्त्रमा गुणात्मक वृद्धि गरिनेछ।
आर्थिक वृद्धिमा टेवा पुर्याउने प्रमुख क्षेत्रहरूमा नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको रूपमा स्थापित गरिनेछ। यसका लागि "उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१" को प्रतिवेदनलाई क्रमशः कार्यान्वयन गरिनेछ।
सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नतिपछि हुनसक्ने लगानी अभावलाई सम्बोधन गर्न स्रोत विविधिकरण, राजस्व प्रणाली सुदृढीकरण तथा राजस्व प्रशासनको व्यावसायिकता अभिवृद्धि गर्ने योजना बजेटमा समावेश गरिएको छ।
सार्वजनिक ऋणलाई उच्च प्रतिफल दिने क्षेत्रमा केन्द्रित गरिनेछ भने अनुपयुक्त आयोजना कटौती गरिनेछ। प्राथमिकताप्राप्त र नतिजामूलक आयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ। विकास वित्तको अभाव पूर्तिका लागि वैकल्पिक र नवीन वित्तीय उपकरणको उपयोग गरिने पनि बजेटमा उल्लेख छ।
व्यापार घाटा घटाउने उद्देश्यले प्रतिस्पर्धी वस्तु र सेवाको निर्यात प्रवर्द्धन र उपभोग्य वस्तुको आन्तरिक उत्पादनमा जोड दिइनेछ। विदेशमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्दै युवामुखी रोजगारी सृजनालाई उच्च प्राथमिकता दिइने भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस