अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित ल्याइएको बताएका छन्।
नाफिजद्वारा आयोजित पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले सरकारको बजेट सकारात्मक प्रक्रियाबाट आएको हुँदा यसको कार्यान्वयन पनि प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उनले अघिल्लो वर्षको ७.५ प्रतिशतको आर्थिक वृद्धिदरको अनुभवलाई आधार मानेर हालको ६ प्रतिशतको लक्ष्य प्राप्त गर्न सकिने दाबी गरे। बजेट आर्थिक यथार्थ, स्रोत र क्षमताका आधारमा निर्माण गरिएको भन्दै उनले राजस्व लक्ष्य पनि पूरा हुनेमा विश्वास व्यक्त गरे।
अर्थमन्त्री पौडेलले बजेट बनाउँदा सीमा, स्रोत र सिद्धान्तको पालना गरिएको स्पष्ट पारे। 'काम नगरी लक्ष्य हासिल हुँदैन, तर इमानदार प्रयास गरेमा सम्भव छ,' उनले भने। राजस्व संकलनमा थोरै मेहनत आवश्यक रहेको उनको भनाइ थियो।
सार्वजनिक ऋणबारे बोल्दै उनले ऋणको मात्रामा चिन्ता गर्नुको सट्टा, त्यसको उपयोग र साँवा–ब्याज तिर्न सक्ने सुनिश्चितता महत्वपूर्ण हुने बताए। 'हिसाब गरेर बस्ने होइन, व्यावहारिक रुपमा ऋण व्यवस्थापन गर्नुपर्छ,' उनले भने।
छुट्टाछुट्टै साना योजनामा बजेट लोड गर्ने पुरानो प्रवृत्तिमा सुधार गरिएको उल्लेख गर्दै पौडेलले अब स्रोतको दुरुपयोग रोक्ने गरी बजेट आएको जानकारी दिए। खर्च गर्नुपर्ने ठाउँ पहिचान गरेर मात्र बजेट विनियोजन गरिएको उनको भनाइ छ।
उनले निजी क्षेत्र, युवा उद्यमी, निर्माण र पूर्वाधार क्षेत्रमा सरकारको विशेष ध्यान रहेको जनाए। डिजिटल बैंकिङ पूर्वाधार निर्माण, राष्ट्र बैंकसँग समन्वय, ट्रान्समिसन लाइनको विकास, र वातावरणमैत्री खनिज प्रयोग जस्ता क्षेत्रलाई बजेटले प्राथमिकता दिएको उनले बताए।
अन्त्यमा, अर्थमन्त्री पौडेलले बजेटको सफल कार्यान्वयन सबैको सहयोगबिना सम्भव नरहेको भन्दै सबै पक्षलाई साथ दिन आग्रह गरे। 'सरकार आयोजनाहरू समयमा सम्पन्न गर्न प्रतिबद्ध छ,' उनले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस