देशभरका यात्रुहरूका लागि राहत हुने खबर! यातायात व्यवसायीहरूले मंगलबार साँझ बसेको निर्णायक बैठकपछि देशव्यापी हडतालका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावलीलाई एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै आन्दोलनको वातावरण सहज बनेको हो। सोही अनुरूप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अब हडताल नगर्ने घोषणा गरेको हो।
महासङ्घका अध्यक्ष विजय स्वाँरका अनुसार, सरकारसँगको छलफलपछि आपसी सहमतिमा आन्दोलन फिर्ता लिने सहमति जुटेको हो। “अब सार्वजनिक सवारी निर्वाध रूपमा सञ्चालनमा आउनेछ,” उनले बताए।
पछिल्ला दिनमा राइड सेयरिङ सेवाप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरू आन्दोलित थिए। तर, सरकारले तत्कालका लागि नियमावली कार्यान्वयन रोकेपछि परिस्थिति सहज भएको हो।
यस निर्णयसँगै अब यात्रुहरू ढुक्क भएर सार्वजनिक सवारी चढ्न पाउनेछन् भने राजधानीसहित देशभरको यातायात पनि सामान्य अवस्थामा फर्कनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस