Like us!
Follow us!
Connect us!
Watch us!

सिसी क्यामेरा बन्द गरी ३ हजार लिटर डिजेल हिनामिना, पूर्वप्रमुखसहित ५ जनामाथि मुद्दा

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, ११ : ०७ मा प्रकाशित

सिसी क्यामेरा बन्द गरी ३ हजार लिटर डिजेल हिनामिना, पूर्वप्रमुखसहित ५ जनामाथि मुद्दा

नेपाल आयल निगमको गगनगौंडा प्रादेशिक कार्यालय डिपोबाट ३ हजार लिटरभन्दा बढी डिजेल हिनामिना गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले निगमको गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन प्रमुख चित्तरंजन दाससहित ५ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

आरोपअनुसार डिपोको सीसी क्यामेरा बन्द गरेर मिलेमतोमा ३ हजार ३८ लिटर डिजेल बढी लोड गराइएको थियो। करीब दुई वर्षअघि पश्चिमाञ्चल ट्रेडर्स नामक व्यवसायिक पेट्रोल पम्पले नेपाल आयल निगमबाट १२ हजार लिटर डिजेलको अर्डर स्वीकृत गराएको थियो। व्यवसायीले उक्त डिजेलबापतको रकम आईपीएसमार्फत निगमको खातामा तिरेपछि बिल–भौचर तयार गरिएको थियो।

त्यसपछि ट्रेडर्सले डिजेल लिन आफ्नै ट्याङ्कर डिपोमा पठाएको थियो। तर, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटले मिलेमतोमा जम्मा १२ हजार लिटर मात्र लोड गर्नुपर्ने डिजेलमा १५ हजार ३८ लिटर लोड गराइदिएको पाइएको छ। ट्याङ्कर डिपोबाट निस्किएपछि पोखरा महानगरपालिका–२७ स्थित डाँडाको नाकामा रोकेर जाँच गर्दा बिलमा उल्लेख भएभन्दा ३ हजार ३८ लिटर डिजेल बढी रहेको देखिएको हो।

अख्तियारको अनुसन्धान अनुसार उक्त दिन डिजेलको प्रतिलिटर मूल्य १४७.६३ रुपैयाँ रहेको थियो। सोअनुसार बढी लोड गरिएको डिजेलका कारण निगमलाई ४ लाख ४८ हजार ५२५ रुपैयाँ बराबरको आर्थिक घाटा भएको देखिएको छ। स्वीकृत अर्डरभन्दा बढी डिजेल लोड गरी सार्वजनिक संस्थाको सम्पत्तिमा हिनामिना तथा हानी–नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको