चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कुल नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको हो ।
नेपालले चालु आर्थिक वर्षको वैशाख महिनासम्मको अवधिमा १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो अवधिमा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो अवधिमा वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो ।
समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलंैचीलगायत वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४ खबै ७४ अर्ब १९ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, खाने तेल, यातायातका उपकरण, सवारीसाधन, स्पेयर पार्टस्, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइलालगायत वस्तुको आयात घटेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२२ अर्ब २ करोडको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस