नेपालले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले चालु आवको पहिलो महिनामा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको हो ।
विभागको तथ्यांक अनुसार साउन महिनामा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । साउनमा नेपालले १ खर्ब ४३ अर्ब ४ करोड बराबरको आयात गरेको छ । यो अवधिमा जम्मा २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात गरेको छ । विभागको तथ्यांक अनुसार साउन महिनामा नेपालले ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरेको छ । व्यापार भएका अधिकांश देशसँग नेपाललको व्यापार घाटामा रहेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालको व्यापार घाटामा रहेको छ । नेपालले साउन महिनामा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात गरेको छ । साउन महिनामा नेपालले भारतसँग ६४ अर्ब आठ करोड ७८ लाख रुपैयाँ व्यापार घाटा व्यहारेको छ । यस्तै, चीनसँग नेपालले २७ अर्ब ९९ करोड ६० लाखबराबरको वस्तु आयात गर्दा ५ करोड ४८ लाखको निर्यात गरेको छ । चीनसँग नेपालको व्यापार घाटा २७ अर्ब ९४ करोड १२ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै साउन महिनामा नेपालले युएईसँगको व्यापारमा समेत नोक्सानी बेहोरेको छ । नेपालले युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँग नेपालको वैदेशिक व्यापार घाटा ११ अर्ब २० करोड भन्दा बढी देखिएको छ ।
अजेन्टिनासँग नेपालले ९ अर्ब १२ करोड ९७ लाख बराबरको वस्तु आयात र २४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्ट्रेलियासँग नेपालले ६७ करोड २८ लाखको आयात गरेको छ । यो अवधिमा सो मुलुकमा नेपालबाट जम्मा १६ करोड ३७ लाख बराबरको सामान निर्यात भएको छ । अष्ट्रेलियासँग नेपालको कुल व्यापार घाटा ५० करोड भन्दाबढि रहेको छ । यस्तै, छिमेकी देश बंगलादेशसँग नेपालको व्यापार घाटा ४६ करोड ७ लाख रहेको छ । नेपालले बंगलादेशबाट कुल ५३ करोड ५८ लाख बराबरको सामान आयात गरेको छ । जबकी साउन महिनामा नेपालबाट ७ करोड ५१ लाखको निर्यात गरेको छ ।
नेपालले बहराइनबाट १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ । जुन सबै व्यापार घाटा नै हो । नेपालबाट बहराइनमा निर्यात शुन्य रहेको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११.४२ र निर्यात ९५.७५ प्रतिशतले बढेको छ । नेपालको व्यापार नाफामा भएका देशहरुमा जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम, नर्वेलगायत छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस