सयपत्री हाइड्रोपावर लिमिटेडले आगामी असार २१ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले सभा कुमारीगाल, काठमाडौंस्थित ज्योति बैंक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ८ बजे साधारण सभा बोलाएको हो।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमा निर्णय गरिनेछ।
साथै, कम्पनीले हालको ३० करोड रुपैयाँ चुक्तापूँजीमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ। हकप्रद सेयरबाट संकलन हुने रकमको उपयोग तथा कम्पनीको प्रबन्धपत्र संशोधनसम्बन्धी विषयहरूमा पनि निर्णय गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ९ गते बुक क्लोज मिति तय गरेको छ। त्यसअनुसार, असार ८ गतेसम्म शेयर खरिद गरी नाम दर्ता गराएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र मतदान गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस