Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

अर्थ संसार

विहीबार, ०५ असार २०८२, ०७ : ४० मा प्रकाशित

सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो ।

‘भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,’ सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, ‘एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ ।’

सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ आएको छ । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामीको स्वास्थ्य अवस्थामा बिहानको तुलनामा सुधार आएको बताए । उनले पुनः कोरोना भाइसको सङ्क्रमण बढ्न थालेपछि आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामी पहिलो भएको बताए ।

भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले मास्कको प्रयोगलाई बढावा दिने, स्यानिटाइजरको प्रयोग गर्ने कार्यसँगै स्वास्थ्यसम्बन्धीका सावधानी अपनाउनुपर्ने उनले बताए । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन कोरोनाको सङ्क्रमणमा परेका व्यक्तिहरुले क्वारेन्टिन वा होमआइसुलेसनमा इमान्दारिपूर्वक बस्नुपर्ने उनको सुझाव छ ।

भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा ‘हेल्थ डेस्क’ मार्फत शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गर्दै आएका छन् । गत जेठ २१ देखि यही असार ४ गतेसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोरोना सङ्क्रमण पुष्टि भएका १६ जना निको भएका छन् । अझै सातजना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको