प्रभु क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित सामूहिक लगानी योजना प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम मा आवेदन दिने आज अन्तिम दिन हो। जेठ २३ गतेदेखि निष्काशनमा ल्याइएको यो म्युचुअल फण्ड स्किम आज (असार ६ गते बन्द हुँदैछ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीका लागि सार्वजनिक निष्काशनमा ल्याएको हो। प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको यो योजना खुलामुखी प्रकृतिको स्किम हो, जसमा लगानीकर्ताले निष्काशनपछि पनि स्वतन्त्र रूपमा खरीद–बिक्री गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्।
यो स्किमको कुल आकार ४ करोड इकाई रहेको छ। त्यसमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई प्रभु बैंक (कोष प्रवर्द्धक) र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई प्रभु क्यापिटल (योजना व्यवस्थापक) का लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
प्रभु क्यापिटल नै यस स्किमको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताहरूले आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू, साथै मेरो शेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस योजनाको क्रेडिट रेटिङ पनि प्राप्त भइसकेको छ। इक्रा नेपालले प्रभु बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग BBB-’ प्रदान गरेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालबाट ‘CARE NP AMC Quality 3+’ रेटिङ्ग प्रदान गरिएको छ। यसले योजना र व्यवस्थापकको मापदण्डअनुसारको क्षमता र स्थायीत्व सूचक मानिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस