काठमाडौं उपत्यकाको चक्रपथमा सवारी चाप व्यवस्थापन गर्न निर्माण गरिएको ललितपुरको ग्वार्को ओभरपास उद्घाटन गरिएको छ।
शुक्रबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा ओभरपास उद्घाटन गरेका हुन्।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म सधैंजसो ट्राफिक जाम हुने तीन प्रमुख स्थानमध्ये ग्वार्को पहिलो हो, जहाँ ओभरपास निर्माण गरिएको हो। ६ मिटर उचाइ र ४५५ मिटर लम्बाइको ओभरपासमा दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटरको र्याम्प बनाइएको छ। ग्राउन्ड क्लियरेन्स ६ मिटर रहेको छ।
२०७८ सालमा सुरु भएको ओभरपास निर्माण पटक–पटक म्याद थप्दै अन्ततः २०८२ जेठमा सम्पन्न भएको हो। आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का पाएको यो आयोजना निर्धारित म्यादभन्दा झण्डै एक वर्ष ढिलो सम्पन्न भएको हो।
निर्माण सम्पन्न भएसँगै लेन सेपरेटर, लाइनिङ, ट्राफिक बत्ती जडान लगायतका कामहरू पनि सकिएको छ। ओभरपास सञ्चालनमा आएसँगै सातदोबाटो–कोटेश्वर चक्रपथ खण्ड तथा मंगलबजार–इमाडोल–लुभु सडकखण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस