नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्व पौडेललाई पुँजीबजारसँग सम्बद्ध तीन प्रमुख लगानीकर्ता संघ–संस्थाहरूले संयुक्तरूपमा बधाई ज्ञापन गर्दै आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने चार बुँदे सुझावसहित पत्र बुझाएका छन्।
शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, तथा स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघका तर्फबाट पठाइएको पत्रमा गभर्नर पौडेलको नियुक्तिलाई नेपालको आर्थिक स्थायित्व, वित्तीय अनुशासन र प्रविधि–मैत्री मौद्रिक प्रणाली विकासतर्फको सकारात्मक संकेतका रूपमा स्वागत गरिएको छ।
संघहरूद्वारा पठाइएको पत्रमा हालको मौद्रिक नीतिले पूँजी बजारमा नकारात्मक प्रभाव पारेको र बजार अस्थिरताबाट ग्रसित रहेको औंल्याइएको छ। ६८ लाखभन्दा बढी हितग्राही खाता सक्रिय रहेको नेपाली पूँजी बजारमा दैनिक कारोबारको रकम र लगानीकर्ताको सहभागिता घट्दै गइरहेको अवस्थामा विश्वास पुनःस्थापना अत्यावश्यक रहेको संघहरूको भनाइ छ।
१. Single Obligator सीमा खारेज गर्न माग
व्यक्तिगत शेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाले तोकेको १५ करोडको एकल परिवार सिमा हटाउनुपर्ने र यसले लगानीकर्ता मैत्री वातावरण निर्माणमा टेवा पुर्याउने उल्लेख गरिएको छ।
२. लघुवित्त संस्थालाई लाभांश वितरणमा स्वतन्त्रता
लघुवित्त संस्थाहरूलाई १५% भन्दा बढी लाभांश वितरण गर्न रोक लगाउने हालको नीति खुला अर्थनीतिक सिद्धान्त विपरीत भएकोले उक्त सीमा हटाउनुपर्ने माग गरिएको छ।
३. बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानी सिमा पुनः निर्धारण
बैंक तथा वित्तीय संस्थाहरूको प्राथमिक पुँजिकोषको लगानी सिमा हालकोभन्दा लचिलो बनाइ ‘बैंक तथा वित्तीय संस्था ऐन २०७३’ अनुसार पुनः निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको छ।
४. गैरआवासीय नेपाली (NRN) लगानी सहज बनाउन कानुनी संशोधन
गैरआवासीय नेपालीलाई पूँजी बजारमा सजिलै प्रवेश गर्न र लगानी फिर्ता लैजान सक्ने वातावरण बनाउन आवश्यक कानुनी सुधारको माग गरिएको छ।
संयुक्त पत्रमा ताराप्रसाद फुल्लेल (कार्यवाहक अध्यक्ष, शेयर लगानीकर्ता संघ नेपाल), एस.पी. चौलागाई (महासचिव, नेपाल पुँजीबजार लगानीकर्ता संघ) र डिल्लिश्वर कार्की ‘रोहन’ (अध्यक्ष, स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघ) को हस्ताक्षर रहेको छ।
पत्रमार्फत डा. पौडेलको बैंकिङ, मौद्रिक नीति र प्रविधि–मैत्री दृष्टिकोणको प्रशंसा गर्दै उनको कार्यकालमा राष्ट्र बैंक ‘लगानीकर्ता–मैत्री’ र ‘आर्थिक विकास–केन्द्रित’ संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ। संघहरूले गभर्नरलाई पुनः बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस