सकारात्मक सूचकहरू र मौद्रिक सहजता हुँदाहुँदै पनि सेयर बजार ठप्प छ। न विश्वास छ, न स्पष्ट नीति—बजार अब बहानाको भरमा लटपटिएको छ। बजार बढ्नका लागि आवश्यक सबै सूचकहरू सकारात्मक देखिएतापनि सेयर बजार भने २६०० विन्दु वरपरमै अल्मलिएको छ।
लगानीकर्ताले न त सरकारप्रति पूर्ण विश्वास गर्न सकेका छन्, न त नियामक निकायप्रति। एकातिर नीति स्थायित्व छैन, अर्कातिर सूचनाको पारदर्शिता कमजोर छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह भइसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५ अर्बले बढी हो। तर, लगानीकर्ताको भावना सकारात्मक बन्न सकेको छैन।
बजारमा देखिएको अविश्वास, हल्ला र नीतिगत अन्योलताका कारण लगानीकर्ता झन् सचेत बन्न थालेका छन्। विश्लेषकहरूका अनुसार, जबसम्म सरकार, नियामक र राष्ट्र बैंकबीच स्पष्ट समन्वय, स्थिर नीति र दीर्घकालीन दृष्टिकोण आउँदैन, तबसम्म बजारमा बहानामात्रै रहनेछ—न त मौद्रिक नीतिले नै गति दिन सक्नेछ, न विश्वासको वातावरणले।
नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल भन्छन्,'सेयर बजार अर्थतन्त्रको ऐना हो। जब अर्थतन्त्र कमजोर हुन्छ, तब बजार पनि चम्किन सक्दैन।' उनले अर्थतन्त्र शिथिल हुँदा लगानीको मनोबल घट्ने र बजारले सोचेजस्तै गति लिन नसक्ने प्रष्ट पारे। 'अर्थतन्त्र कमजोर भएको समयमा सेयर बजार बढ्न सक्दैन,’ उनले भने । कँडेलका अनुसार, 'बजारले हाम फालेर बढ्नुपर्ने होइन। यो विस्तारै आफ्नो गतिमा अघि बढ्नेछ। तर त्यसका लागि स्थिर अर्थतन्त्र र स्पष्ट नीति अपरिहार्य छ।'
सेयर विश्लेषक मुक्ति अर्याल पनि बजारले गति लिन नसक्नुको मूल कारण नीतिगत अनिश्चितता, बजेटको प्रभाव र लगानीकर्ताको मनोवैज्ञानिक अवस्था भएको बताउँछन्। 'सबै सूचक सकारात्मक छन्, तर सरकारको बजेटमा आएको 'टेक एण्ड पे' जस्ता व्यवस्थाले लगानीकर्ता निराश छन्। संसदमा 'बाफिया विधेयक'मार्फत बैंकर र व्यवसायी छुट्याउने विषयले पनि अन्योलता थपिएको छ,'अर्यालले बताए।
बजारमा ‘मौद्रिक नीति पर्खाइ’को नाममा बहाना खोज्ने प्रवृत्ति बढेको विश्लेषकहरूको आरोप छ। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेर बजारमैत्री कदम चालेको भए पनि त्यसको प्रभाव देखिएको छैन। गभर्नर समेत बजारमैत्री भनेर चिनिँदा पनि लगानीकर्ताको भरोसा भने फर्किएको छैन।
लगानीकर्ता गोपाल स्वामी भन्छन्, 'बाहिरबाट हेर्दा सेयर बजार सजिलो लाग्छ, तर वास्तवमा यो फलामको चिउरा चपाउनुजस्तै हो।' उनले बजारमा धेरै हल्ला, अनिश्चितता र डरका कारण नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको बताए। 'सेयर बजार सबैका लागि होइन। यहाँ ३ प्रतिशतले मात्र कमाउँछन्, बाँकी ९७ प्रतिशत गुमाउँछन्,' उनले भने ।
अहिले बजारले मौद्रिक निती पर्खिएको हो या विश्व राजनीतिका कारण बजार अघि बढ्न नसकेको हो ? तपाइहरुलाई के लाग्छ कमेन्ट गर्नुस् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस