विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षबाट मुद्दा लड्नका लागि करिब १०० जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । अहिले विशेष अदालतमा पूर्व प्रम नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ ।
मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्ने बताइएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट करिब १०० जना कानुन व्यवसायीहरुले बहस गर्न नाम दर्ता गराएको बताइएको छ । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्वप्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए ।
वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानुन व्यवसायीहरू आइरहेका छन् । वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालत गर्ने छन् । यस्तै, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले वकालतनामा भरिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस