राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल आफूलाई पदबाट हटाइएको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। उनले निर्वाचन आयोगको अभिलेखमा आफूलाई महामन्त्रीका रूपमा यथावत राख्न र पार्टीभित्र पनि सो हैसियतमा काम गर्न दिनुपर्ने मागसहित रिट दायर गरेका हुन्।
न्यायाधीश कुमार रेग्मीको इजलासमा ढकालको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुँदैछ। रास्वपाले उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको घोषणा गरिसकेको छ।
ढकालले भने, "पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता बनाएको छ। तर आयोगको अभिलेखमा म नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्न माग गर्दै अदालत गएका हुँ।"
उनको रिटमा निर्वाचन आयोग विपक्षी बनाइएको देखिँदैन। तर उनले रास्वपा, पार्टीको केन्द्रीय कार्यसमिति, सभापति रवि लामिछाने, नवनियुक्त महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन्।
निर्वाचन आयोगले केही दिन अघि डा. ढकालकै नाममा पत्र पठाउँदै उनी नै रास्वपाका महामन्त्री रहेको पुष्टि गरेको थियो। तर त्यसपछि रास्वपाले नयाँ नाम सिफारिस गर्दै आयोगमा अद्यावधिक विवरण पठाएको छ, जुन अझै सार्वजनिक भइसकेको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस