उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रम बजारमा विदेशी नागरिकहरूको प्रभाव बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। युवाहरुको वैदेशिक पलायनको एक मुख्य कारण यही रहेको उनले औंल्याए।
काठमाडौंमा आज बिहान आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले गार्मेन्ट, सुनचाँदी लगायतका व्यवसाय र उद्योगमा बाह्य नागरिकहरूको वर्चस्व रहेको बताएका हुन्।
'फ्रन्टमा केही नेपाली देखिए पनि वास्तविक सञ्चालन र श्रमिकको स्तरमा विदेशी नागरिकको बाहुल्यता देखिन्छ,' मन्त्री भण्डारीले भने, 'गार्मेन्ट उद्योगभित्र प्रायः विदेशी नागरिक छन्, सुनचाँदी व्यवसायमा मात्रै बंगाली मूलका करिब तीन लाख व्यक्तिहरू कार्यरत छन्।'
उनले यो अवस्थालाई अस्वीकार्य बताउँदै प्रश्न गरे, 'नेपालको श्रम बजार अरूले कब्जा गर्ने, अनि हामी भने खाडी मुलुकतिर मात्र हेरेर बस्ने?'
मन्त्री भण्डारीका अनुसार, यो समस्याको समाधानका लागि सरकारले आवश्यक नीतिगत परिवर्तन गर्न खोजिरहेको छ। सिपमूलक तालिम दिने चलन फेसन जस्तो मात्र नबनोस् भनेर पनि उनले सचेत गराए। काठमाडौं महानगरपालिकाले हालै आयोजना गरेको सिप मेलाको प्रसंग उठाउँदै उनले भने, 'सिप त दिइन्छ, तर त्यसको सर्टिफिकेसन कसले गर्छ? मान्यता नभएको सर्टिफिकेट लिएर कसरी प्रतिस्पर्धा गर्ने?'
सर्टिफिकेसनको गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने बनाउनु आवश्यक रहेको उनले बताए। सीटीईभीटीले दिने प्रमाणपत्रलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड थियो। अन्तमा उनले जनशक्ति अभाव अन्त्य गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच गहिरो समन्वय आवश्यक रहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस