विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले (आज) असार १८ गतेदेखि आम सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २० गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कम्पनीले असार ५ गते आईपीओ बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता बाँडफाँड गरेको हो ।
अब कम्पनीले बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले आवेदन दिंदा न्यूनतम १० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस