नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र मलेसिया-नेपाल बिजनेस काउन्सिलबीच व्यापार सहजीकरण, लगानी अभिवृद्धि तथा रोजगारी विस्तारबारे काठमाडौंमा विशेष छलफल भएको छ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोली र मलेसिया-नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थिए।
छलफलका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहकार्य, रोजगारीको अवसर तथा व्यापार घाटा न्यूनीकरणबारे महत्वपूर्ण विचार आदानप्रदान भएको थियो।
चेम्बर अध्यक्ष अग्रवालले नेपाल र मलेसियाबीच ६५ वर्षभन्दा लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै व्यापार, लगानी र रोजगारीका दृष्टिकोणले मलेसिया नेपालको महत्वपूर्ण साझेदार रहेको बताउनुभयो। उहाँले हाल मलेसियामा ५ लाखभन्दा बढी नेपाली युवा कार्यरत रहेको र दुई देशबीच व्यापक हवाई सम्पर्क रहेको जानकारी दिनुभयो।
मलेसियासँग नेपालको व्यापार घाटा उच्च रहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले व्यापार सहजीकरणमार्फत यो घाटा घटाउन जोड दिनुभयो। साथै, उहाँले मलेसियाली व्यवसायीहरूलाई नेपालका ऊर्जा, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।
मलेसिया-नेपाल बिजनेस काउन्सिलका अध्यक्ष कुकरेजाले नेपालमा लगानीको अपार सम्भावना रहेको उल्लेख गर्दै यहाँको पर्यटकीय क्षेत्रले आफूलाई आकर्षित गरेको बताए। उनले नेपालमा व्यवसायिक वातावरण विकास गर्न चेम्बरसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस