Like us!
Follow us!
Connect us!
Watch us!

विलासी करको विरोधमा आज पनि सुनचाँदी व्यवसायीको आन्दोलन

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १३ : १८ मा प्रकाशित

विलासी करको विरोधमा आज पनि सुनचाँदी व्यवसायीको आन्दोलन

सुन तथा हिरामा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरू शुक्रबार पुनः सडकमा उत्रिएका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा व्यवसायीहरूले काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–रत्नमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेका छन्। साथै, सुनको भन्सार दर ६ प्रतिशतमै कायम गर्नुपर्ने माग पनि राखिएको छ। उनीहरूको तर्कमा सुन कुनै विलासिता वस्तु नभइ आवश्यक वस्तु हो, जसको कारोबारका लागि स्पष्ट, व्यवसायीमैत्री नीति–नियम तथा निर्देशिका आवश्यक छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सबै मूल्यका सुन तथा गहनामा २ प्रतिशत विलासिता कर लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। अघिल्लो व्यवस्था अनुसार १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र विलासिता कर लाग्ने गर्थ्यो, तर नयाँ बजेटले त्यो सीमा हटाएको छ। अब थोक कारोबारमा ढिक्का सुन बिक्री गर्दा पनि कर लाग्ने व्यवस्था भएपछि बजारमा अतिरिक्त करको भार परेको व्यवसायीहरूको भनाइ छ।

विलासिता करबारे उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार राष्ट्रिय सभामा स्पष्ट पारेका थिए कि यो नयाँ कर होइन, बरु अघिल्लो सीमालाई हटाएर पारदर्शिता कायम गर्न गरिएको हो। उनका अनुसार ग्रे–लिस्टबाट बाहिरिनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै पारदर्शी कारोबार सुनिश्चित गर्न यो व्यवस्था गरिएको हो।

यद्यपि, व्यवसायीहरूले उक्त भनाइलाई अस्वीकार गर्दै विहीबार र शुक्रबार समेत आन्दोलन दोहोर्याएका छन्। यसअघि ५ असारमा अल्टिमेटमसहित आन्दोलन स्थगित गरेका व्यवसायीले सरकारले माग सम्बोधन नगरेको भन्दै पुनः विरोधमा उत्रिएको बताएका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको