माबिलुङ्ग इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी आज असार २२ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ।
कम्पनीले संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का प्रभावित स्थानीयहरूका लागि ३ लाख ८५ हजार ८ सय २४ कित्ता सेयर निष्काशन गरेको छ। इच्छुक स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। यस समूहका लागि आवेदन दिने अन्तिम म्याद छिटोमा साउन ४ गते र अपर्याप्त आवेदन परेमा साउन १९ गतेसम्म तोकिएको छ।
त्यस्तै, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर संख्या १ लाख ५० हजार ४ सय ७१ कित्ता रहेको छ। यो समूहका आवेदकहरूले पनि १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारी समूहको लागि आवेदन म्याद साउन ४ गतेसम्म तोकिएको छ।
उक्त निष्काशनमा पर्याप्त आवेदन प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि पनि आईपीओ निष्काशन गर्नेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले लिएको छ।
माबिलुङ्ग इनर्जी लिमिटेडमा अहिले एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २० प्रतिशत, र राजेश लाल श्रेष्ठको ११ प्रतिशत स्वामित्व रहेको छ। यद्यपि, आईपीओपछि उनीहरूको स्वामित्वमा कमी आउनेछ।
कम्पनीले संखुवासभामा ४.९५ मेगावाट क्षमताको अपर पिलुवा खोला–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस